सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

खानेपानीको स्रोतमै पाइँदैन पानी

images
बुधबार, वैशाख २७ २०८०
images
images
खानेपानीको स्रोतमै पाइँदैन पानी

सुन्दरीजलबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ। बर्सातका समयमा भने यहाँको बागमतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ।

images
images

काठमाडौं- मेलम्चीको पानी काठमाडौं ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ। सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बने पनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

images
images
images

राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन्। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दुरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं.१ महाँकालमा प्रशोधन हुन्छ।

images
images

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका हुन्।

images
images
images

सुन्दरीजलबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ। बर्सातका समयमा भने यहाँको बागमतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने बागमती नदीको पानी पनि पाउन सकेका छैनन्। खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ आलापोटका स्थानीयवासी श्याम धिमाल खानेपानी खोज्दैमा दिन जाने गरेको गुनासो गर्छन्।

स्थानीयवासी पानी खोज्न जाने धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ। यस्तो समस्या भोग्ने धिमालमात्र होइन यहाँका हजारौँको समस्या हो। आधारभूत खानेपानी सेवा विस्तार गर्ने विषयलाई यहाँका नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन। संविधानमा पनि खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ। तर कार्यान्वयन भने हुन नसकेको पीडितको गुनासो छ।

राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको पाँच महिना पूरा भए पनि बागमतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका वडा नं. १ पाथीभराका मंगलबहादुर तामाङको गुनासो छ। स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनु परेको उनले सुनाए।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने धम्की दिने गरे पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन। गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्छन्।

जनप्रतिनिधि र पीडित स्थानीयवासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा बागमतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमती भएपनि पानी नआएको जानकारी पनि उनले दिए। धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन्। पानी नपाएर स्थानीयवासी धर्नामा बसेपनि धारामा भने पानी आउँदैन।

जनताकै घर आँगनमै पुगेको स्थानीय सरकारको ध्यान आधारभूत विषयमा भन्दा पनि अन्यत्र जाँदा जनजीविकाको यो महत्वपूर्ण समस्या समाधान नभएको हो। नगर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न नसकेको गोकर्णेश्वर नगरपालिकाले देशव्यापी गजल महोत्सव गरेर समय र स्रोत सकाएको गुनासो पनि स्थानीयवासीले गरेका छन्। संविधानले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर विगत तीन वर्षदेखि देशव्यापी रुपमा साहित्यिक प्रतियोगिता गर्दै आएको नगरपालिका खानेपानी समस्या समाधान गर्न भने नलागेको स्थानीय पासाङ तामाङले बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश राई मुहान क्षेत्रमा पानीको अभाव रहेको बताउँछन्। बागमतीबाट वितरणका लागि ल्याइएको पाइप पुरानो भएकाले चुहावट हुने गरेको र मेलम्चीको पानी सुन्दरीजलबाट ठूलो पाइपमा ल्याएर महाँकालचौरबाट मात्र वितरण हुने गरेकाले त्यस क्षेत्रमा पानीका अभाव भएको उनले जानकारी दिए। त्यस क्षेत्रमा खानेपानी समस्या समाधानका लागि योजना बनिरहेकाले केही समयमा समस्या समाधान हुने केयुकेएलले जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend