शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

भैँसीपालनले फेरियो हरिप्रसादको जीवनशैली, दही बेचेरै मासिक ५० हजारसम्म आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
भैँसीपालनले फेरियो हरिप्रसादको जीवनशैली, दही बेचेरै मासिक ५० हजारसम्म आम्दानी

दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर ९० रूपैयाँसम्ममा बेच्ने गरेको हरिप्रसाद यादव बताउँछन्।

घोराही- देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुल्सीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन्। भैँसीपालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफनो जीविकोपार्जन गर्दै आएका हुन्।

राजपुर गाउँपालिका-३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसीपालन व्यवसायमै बित्ने गरेको छ। ४६ वर्षीय उनी बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर ९० रूपैयाँसम्ममा बेच्ने गरेको बताउँछन्। आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ। दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक ५० हजार रूपैयाँसम्म आम्दानी उनी बताउँछन्।

'गाउँमा सबैको घरमा भैँसी हुन्छन्। त्यसैले गाउँमा दही बिक्री हुँदैन', यादव भन्छन्,'राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु। बजारमा दही राम्रो बिक्री हुने गरेको छ।'

बजारमा पुर्‍यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन्। यसरी कमाइएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन्।

देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उनको भनाइ छ। यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन्। देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ। व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैसी पाल्न गरेका छन्।

राजपुर गाउँपालिका-३ खरदरीयामा मात्रै भैँसीपालन व्यवसायमा एक सय ५० बढी किसान आवद्ध छन्। किसानहरुले भैँसीको दूध डेरीले ल्याउने गरेको छ। डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले  केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादव बताउँछन्।

'भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन्। बिक्रीका लागि कुनै समस्या छैन,' उनी भन्छन्, ' तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैया महँगोमा बिक्री गर्न सकिन्छ।'

दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रुपमा विस्तार भएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २५ २०८००७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend