सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

समृद्धिको यात्रामा चेपाङ युवा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
समृद्धिको यात्रामा चेपाङ युवा

चेपाङ समुदायका युवाहरु कोही माैरी पालनमा लागेका छन् भने कोही घिउ, पिना बेचेर जीवनस्तर उकास्न लागि परेका छन्।

images
images

बागमती- परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन्। गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन्।

images
images
images

जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिंगेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। महेन्द्र राजमार्ग नजिक मनहरिको लोथरमा मौरीपालन केन्द्र सञ्चालन गरेका उनले वार्षिक एक हजार केजीसम्म मह उत्पादन मात्रै गर्दैनन्, वार्षिक ४५ हजार केजीभन्दा बढी मह संकलन गरेर काठमाडौं,  हेटौँडा, नारायणघाट, पोखरा तथा देशैभरका साना किसान सहकारीलाई वितरण गर्ने गर्छन्।

images
images

उनले गाउँका गरिब किसानलाई मौरीपालन गर्न प्रोत्साहन गरेका छन्। गाउँलेले उत्पादन गरेका मह किनिदिएर बजारीकरण गरिदिने दिनेशका कारण अन्य चेपाङ परिवारको आयस्तरसमेत बढेको छ। 'सुरुवातमा मेरो आर्थिक अवस्था पनि कमजोर थियो, मौरीपालन गरेर मह उत्पादन र बिक्रीवितरण गरेर आम्दानी गर्न थालेपछि विस्तारै स्वावलम्बी बन्न सकेँ। मौरीपालन नै मेरो जीविका परिवर्तनको कारण हो', उनले भने।

images
images
images

अहिले उनीसँग आफ्नै गाडी छ। राक्सिराङका विकट गाउँबाट मह संकलन गर्छन्। संकलन गरेको कच्चा मह लोथरमा रहेको मह प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ। उनले आफ्नै ब्राण्डमा बेच्छन्। वर्षमा झण्डै ५० हजार किलो मह संकलन र बिक्रीवितरण गर्ने गरेको उनको भनाइ छ।

राक्सिराङ-७ का वडाध्यक्षसमेत रहेका रामबहादुर प्रजा पनि चिउरीको मह उत्पादक हुन्। एकसय २० घारसम्म मौरीपालन गरेर १६ सय किलोसम्म मह उत्पादन गर्ने गरेकामा अहिले भने जनप्रतिनिधि भएपछि उत्पादन घटाउन बाध्य हुनुपरेको उनी बताउँछन्। उनी भन्छन्, 'पहिला त मह उत्पादन गरेर प्रसस्त आम्दानी गरेको थिएँ, जनप्रतिनिधि भएपछि समय दिन नपाएर अहिले उत्पादन घटेको छ। तै पनि यो पेशा छोड्न सकेको छैन।' महबाहेक स्थानीयरुपमा उत्पादन हुने कोदो फापर, मास, सिमीजस्ता कृषिउपज पनि उत्पादन र संकलन गरेर बेच्ने गरेको प्रजाले बताए।

त्यस्तै राक्सिराङ-८ का २६ वर्षीय युवा आर्यन प्रजा चिउरीको घिउ र पिना बेचेर चेपाङ सामुदायको स्तरवृद्धिमा लागेका छन्। अहिले आर्यन राक्सिराङका गाउँगाउँमा चिउरीका दाना संकलन गर्न पुगिरहेका छन्। चेपाङ चिउरी युथ क्लबका अध्यक्षसमेत रहेका आर्यनले आफूसँग भएको चिउरीको घ्यू र पिना चैनपुरमा लाग्ने हाटबजारमा लगेर बिक्री गर्छन्।

राक्सिराङको केन्द्र चैनपुरमा महिनाको दुई दिन १ र १५ गते स्थानीय उत्पादनको बिक्री वितरण गर्न हाटबजार लाग्ने गर्दछ। हाटबजारमा आफूहरुले चिउरीको दाना प्रतिपाथी एकसय, घ्यू प्रतिकिलो तीन सयमा र पिना प्रतिकिलो ५० रूपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछन्। चिउरीको मह, चिउरीको फल मात्रै होइन, खेर जाने दानाकोसमेत मूल्य आउने भएपछि स्थानीय चेपाङ समुदाय चिउरी संरक्षणमासमेत जुटेको उनको भनाइ छ। 

चिउरी फूलको रसबाट माहुरीले बनाएकोे मह चिउरीको फल जतिकै स्वादिलो हुने र स्वास्थ्यका लागि अति राम्रो हुने विश्वास गरिन्छ। चिउरीको फलको बियाँबाट घिउ निकाल्ने र त्यसलाई भुटुनका रुपमा प्रयोग गरिने प्रचलन अहिले पनि रहेको छ। माछा मार्न तथा अन्य काममा पनि चिउरीको पिना प्रयोग हुने गर्दछ।

चिउरी, चमेरो र चेपाङ समुदायबीच विशिष्ठ सम्बन्ध रहेको छ। चेपाङ समुदायमा चिउरीको रुख दाइजोका रुपमा चेलीबेटीलाई दिने चलन यद्यपि रहेको पाइन्छ। फूलको रस चुस्न आउने चमेरोलाई चेपाङ समुदायमा मिठो परिकारका रुपमा लिइन्छ। सिलिंगे सामुदायिक वनका अध्यक्ष प्रजाका अनुसार  पुस, माघमा चिउरीको फूलको रस चुस्न र असार साउनमा पाकेको फल खान आउने चमेरोलाई सिकार  गर्ने चलन अहिले पनि छ।

चेपाङ, चिउरी र चमेरो मात्रै हैन अहिले मह पनि जोडिएर चेपाङ समुदायको जनजीविकासँग जोडिएको छ। जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा वनमा नै निर्भर रहेको यो समुदायको परम्परागत सीपका माध्यमबाट आर्थिक र सामाजिकस्तरमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाबाट पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्।

'उहिले उहिले त कोलमा पेलिएको चिउरीको घ्यु टिनका टिन बजार जान्थ्यो अचेल त्यो बन्द छ। चेपाङका घरमा बजारिया तेलको प्रयोग बढ्न थालेको छ', संविधानसभा सदस्य गोविन्दराम चेपाङले भने।

चेपाङ समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको चिउरी संरक्षण र उपयोगिताको वैज्ञानिक तौरतरिका अपनाएर लागू गर्नसके चेपाङ जातिको उत्थान सँगसँगै देशकै आर्थिक स्थितिलाई टेवा पुर्‍याउन सकिने उनको भनाइ छ।  

चेपाङ समुदायले कृषि तथा पशुपालन गर्नुका साथै मह उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको सिलिंगे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आइतसिंह प्रजा बताउँछन्। जनसंख्या वृद्धिसँगै चिउरीको फँडानी बढ्न थालेपछि चिउरीसँग जीवन जोडिएका चेपाङ समुदायको पहिचान संकटमा पर्न नदिन सामुदायिक वन उपभोक्ता समूहमार्फत वनजंगलसँगै चिउरी संरक्षण सुरु गरिएको उनको भनाइ छ। रासस 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend