शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपूरो भएको स्थानीय बताउँछन्।

images
images

ढोरपाटन- तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ। चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ। भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो। नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ। हिउँदयाममा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खायाममा करिब चार महिना सडक अवरुद्ध हुन्छ। 

images
images
images

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सडकको ट्रयाक खोलेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ। तर बाह्रै महिना यातायात सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ। गाउँमा पुग्न धेरै खोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने हुँदा बर्खाको चार महिना स्थानीयले सास्ती खेप्नुपरेको छ। नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्छ। तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेको छैन।

images
images

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ। यहाँ पनि अहिलेसम्म पुल बनेको छैन। वडा नं २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेँसीघाट र बोङ्खानीघाटमा मोटरेबल पुल आवश्यक पर्छ। तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन्। विभिन्न खोलामा पुल नबन्दा स्थानीय बर्खाको समयमा यात्रा गर्न सक्दैनन्। सबै गाउँबाट पालिकाको केन्द्र आउन नौवटा पुल बन्नुपर्छ। पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या भएको छ।

images
images
images

बर्खाको समयमा सडक अवरुद्ध हुँदा हिउँदमै बजारबाट सामान ढुवानी गरेर भण्डारण गरी राख्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिका-६ का पूर्वअध्यक्ष कुलबहादुर छन्त्यालले बताए। उनले यसरी हिउँदै भण्डार गरेर सामान राख्दा कुहिने र समयावधि सकिएर खान नमिल्ने हुँदा नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे। छन्त्यालले पुल निर्माणमा माथिल्लो निकायले चासो नदिँदा सयौँ नागरिकले बर्खामा समस्या भोग्नुपरेको बताए।

'भौगोलिकरूपमा त पछाडि परेका थियौँ, विकासका हिसाबले पनि पछाडि नै परेका छौँ, सडक निर्माण भएको वर्षौँ भयो तर अहिलेसम्म कुनै पनि खोलामा पुल बनेको छैन, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ', छन्त्याल भन्छन्, 'बर्खामा हिँडेर पालिकाको केन्द्रमा पुग्न तीन घन्टा बढी लाग्छ, सामान बोकेर ल्याउन सकिने अवस्था पनि हुँदैन, गाडी खोला ठूलो भयो भने बीचमै अलपत्रसमेत हुने गरेका छन्, अहिले पनि फेरि बर्खा लाग्न थाल्यो, समस्या उही छ।'

सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपूरो भएको स्थानीय जालप्रसाद छन्त्यालले बताए। सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा, खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको उनको भनाइ छ। बर्खामा गाडी पनि नचल्ने र खच्चड पनि नपाइने हुँदा ग्रामीण क्षेत्रका नागरिक ठूलो समस्यामा पर्ने बताउँछन्।
 
'बर्खामा गाउँमा गाडी चल्दैनन्, कोही बिरामी पर्‍यो भने अस्पताल पुर्‍याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पुर्‍याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ।'

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलाका गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताए। उनले स्थानीय तहमा नेतृत्व लिएदेखि धेरै गाउँमा सडक पुर्‍याए पनि पुल निर्माण गर्न नसकेको बताए। यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउने हुँदा पुल निर्माण गर्न नसकिएको बताए। पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरिरहेको जानकारी दिए।

'तमानखोलाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, बर्खामा खोलामा पानीको बहाव निकै बढ्ने हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीले सबै गाउँ र बस्तीमा ढिलो-चाँडो सडक त पुर्‍यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ', अध्यक्ष बुढामगरले भने, 'पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउनेछौँ, एकैपटक नहोला तर पनि पुल बनाउनतर्फ लागिपरेका छौँ।'

पालिकाको केन्द्र बोंगादोभानस्थित बोंगाखोलामा भने अहिले पुल निर्माण भइरहेको छ। गत वर्षदेखि निर्माण हुन थालेको पुलको काम सुस्त गतिमा भइरहेको छ। यहाँको पुल समयमै सकिए सयौँ नागरिकलाई पालिका केन्द्रमा आउनजान सहज हुनेछ। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८००४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend