शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पशुमा फैलिँदै 'लम्पी स्किन' संक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
पशुमा फैलिँदै 'लम्पी स्किन' संक्रमण

याे रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने बंगलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले बताए।

देउखुरी- दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको छ। पछिल्लो समय जिल्लाको बंगलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको संक्रमण बढेको जनाइएको छ।

बंगलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७  र ८ मा बढी मात्रामा  रोग संक्रमण देखा परेको छ। रोगका कारण बंगलाचुली-७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिएका बंगलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिए। उनका अनुसार पालिकाका करिब दुईसय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन्।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उनले बताए। जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना संकलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पी स्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिए। उनका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौं नमूना पठाइएको बताए।

राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा सो रोगले पशु थलिएका छन्। यहाँ तीन सय  ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताए। उनका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करंगेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ।

अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत स्थानमा पाँच पशु मरेका उनले जानकारी दिए।

लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ। 'पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब विस्तारै तराईतिर सर्दै गएको छ,' पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भने, 'लम्पी स्किन एक प्रकारको बिफरजस्तै रोग हो। भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन। रोकथामको प्रयास गर्ने हो। सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो।'

'दाङमा प्रयोगशाला छैन, सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ। उता पनि नभ्याउने भएपछि केन्द्रमा पठाउने गरिएको छ। यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ', उनले भने, 'यहाँ रोगले ग्रस्त बनाइसकेको हुन्छ, के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नु परिरहेको हुन्छ।'

घोराही उपमहानगरपालिका-१९ का पहाडी क्षेत्रमा पनि लम्पी स्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ। राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पी स्किनको संक्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८००५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend