शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

शनिबार, वैशाख १६ २०८०
जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

यहाँ गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ।

जुम्ला- यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन्। यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन्। यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन्। किसानका स्याउ बगैँचा फलेर रंगीचंगी भएको तिला गाउँपालिका-२ का स्याउ किसान दलबहादुर रावतले बताए। 

अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन्। माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले बताए। उनले भने, 'स्याउका बिरुवा फुलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयलाई भ्याइनभ्याइ छ, बगैँचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैँचा सेताम्मे बनेको छ।' स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा  रहेको रावतको भनाइ छ। 

स्याउका फूल फुलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ। 'स्याउ हरेक वर्ष सुर्खेत र नेपालगञ्जमा बिक्री गर्न लैजाने गरेको छु, गत वर्ष स्याउबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी भएको थियो', उनले भने। यस वर्ष कम्तीमा रु सात लाख आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताए।  

फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका कनकासुन्दरी-२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिए। अहिले जिल्लाका सबै स्याउ बगैँचा फुलेर सेताम्य भएका छन्। पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षति गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन्।

बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ। सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउका फूलसँगै रमाउन थालेका छन्। कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटक स्याउका फूलसँगै फोटो खिचाउँदै भिडियो बनाउन ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताए। अहिले फुलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छन्।

यहाँ गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ।

यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालयले जनाएको छ। कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, वैशाख १६ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend