बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आगलागीको राहतका लागि धाउँदा धाउँदै १० हजार सकियो, राहत आयो ७ हजार

अशिक्षा र गरिबीको दूरावस्थामा भिट्टुको परिवार

शुक्रबार, वैशाख १५ २०८०
आगलागीको राहतका लागि धाउँदा धाउँदै १० हजार सकियो, राहत आयो ७ हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टु। उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ। राहतका लागि उनी दसौँ पटक पालिका पुगे।

बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला। आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै। यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका-७ गोरखाली खानडाँडाको।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ। बस्तीभन्दा टाढा भए पनि खन्दै स-सानो बारी (जमिन) जोडेका रहेछन्। 

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए। लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो। बालबालिका शिक्षाबाट वञ्चित भए। हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे।

२६ वर्षमा १२ सन्तानलाई जन्म

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो। केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरे। अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो। यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकिन्।

खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो। तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती। अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो। दोस्रो पनि तीन/चार महिनाको बीचमै गुम्यो।

तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे। 'गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन', भिट्टु सम्झन्छन्, 'गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ।'

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए। त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो। छोरी जन्मेको एक सातामै उनीहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए। पछि औषधिले पहिलो सन्तान जोगायो। पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले। गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो। भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाए।

सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो। त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाए। जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन्।

रिरा खड्का भिट्टुकी माइली छोरी हुन्। उनको उमेर १४ वर्ष भयो। अहिले उहाँ ३ कक्षामा पढ्छिन्। कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिएका छन्। नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन।

यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन्। 'सबैका छोराछोरी पढ्न जान्छन्। आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ। तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन।' उनी बोल्न नसकी भक्कानिन्छन्। आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए। 'हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो' उनले भने।

अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए। उनले भने, 'विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ। तर, मसँग सुक्को पैसा छैन। गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ। कताबाट नयाँ पोसाक पाउनु!'

घर जलेर पीडामाथि पीडा

खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो। आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन। 'डाँडामा भएको घर। निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार। पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो। दुई /चार नजिकका छिमेकीले साना-साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो' खड्का सम्झन्छन्

खड्काको गोठमा तीन बाख्रा थिए। घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए। बेलुले भनिन्, 'हामी बेहोस भइसकेका थियौँ। गाउँले आएर आगो फैलन दिएनन्। माटोले निभाएछन्। पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ।' पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो। 'त्यो पनि ढिला भइसकेको रहेछ' उनले भनिन्।

घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन्। 'बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,' बेलु भन्छिन्, 'भरखर किनेका चार/पाँच ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए।' त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताइन्।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो। आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे। त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए। 'कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ। केही किन्न नसक्ने अवस्था भएपछि गाउँ-गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ' उनले भने।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनले बताए। 'गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ', उनले भने, 'हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ। तर, के गर्नु, पापी पेट मान्दैन। उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ। त्यसले पनि हप्तौँ दिन छाक टर्छ।'

ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो ७ हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टु। उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ। राहतका लागि उनी दसौँ पटक पालिका पुगे। भिट्टु भन्छन्, 'घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन। तर, पटक-पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो।' 

त्यो बीचमा भिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो। 'तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,' उनी सम्झन्छन्, 'त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ। तर राहत पाउने कहिले हो कहिले भयो?'

पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे। 'धेरैपछि उनले राहत ल्याउनुभयो सात हजार रूपैयाँ। त्यसबाट दुई हजार शिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टु खर्च दिए। बाँकी पाँच हजार राहत घरमा पुग्यो' उनी भन्छन्।

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु। 'त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन्। पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ।'

राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँछन्। ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले बताए।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए। खानडाँडामा उनले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ। त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन। 'डाँडामा पानी छैन, मल पनि हुँदैन। अनि के उत्पादन हुन्थ्यो र? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ' उनी भन्छन्। 

अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन्। 'गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,' भिट्टु भन्छन्, 'खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन्। म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु।'

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन्। 'घरमा गोरू हेर्ने मान्छे छैन भन्नुहुन्छ, छोराछोरी स्कुल जान्छन रे। त्यो समस्या देखाएर गाई गोरू सिधैँ यतै लिएर आउँछन्। कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि 'हुँदैन' भन्न सकिँदैन। पालिरहेको छु' उनले भने। गोरू मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend