बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवसायी शिव घिमिरेले सुरू गरे नेपालमै विद्युतीय स्कुटर उत्पादन

‘ओकला ई-स्कुटर एन्ड बाइक’ सँगको प्राविधिक साझेदारी

मंगलबार, वैशाख १२ २०८०
व्यवसायी शिव घिमिरेले सुरू गरे नेपालमै विद्युतीय स्कुटर उत्पादन

परीक्षण एसेम्बल गरेर नेपालमा रोड टेस्ट, रेन्ज टेस्ट तथा प्राविधिक टेस्ट गराएपछि मात्र मास प्रोडक्सनमा जानेगरी काम गरिरहेको कम्पनीले जनाएको छ।

काठमाडौं- एसजी अटोक्राफ्टले नेपालमै विद्युतीय स्कुटर एसेम्बल सुरु गरेको छ। कम्पनीले परीक्षणका रुपमा ललितपुरको इमाडोलमा सानो स्केलमा एसेम्बल सुरु गरेको हो। 

नेपालमै विद्युतीय सवारी उत्पादन गर्न उद्योग दर्ता गरेका व्यवसायी शिवप्रसाद घिमिरेले एसेम्बलका लागि एक चिनियाँ कम्पनीसँग प्राविधिक साझेदारी गरेका छन्। एसजी अटोक्राफ्ट प्रालिले विद्युतीय ब्रान्ड ‘ओकला ई-स्कुटर एन्ड बाइक’सँगको साझेदारीमा सीकेडी नेपाल ल्याएको हो। तर एसजी अटोक्राफ्टले आफ्नै ब्रान्ड नेममा विद्युतीय स्कुटर नेपाली बजारमा बिक्री गर्ने जनाएको छ।

एसजी अटोक्राफ्टले ‘वाहन’ ब्रान्डमा विद्युतीय स्कुटर उत्पादन गरेर बिक्री गर्ने जनाएको छ। त्यसका लागि सुरुवाती चरणमा एसजीले ललितपुरको इमाडोलमा एसेम्बल सुरु गरेको र परीक्षण सफल भएलगत्तै बाराको सिमरामा रहेको प्लान्टबाट नियमित एसेम्बल सुरु हुने उद्योग सञ्चालकको भनाइ छ। 

‘हामीले एसजी अटोक्राफ्टका नाममा चीनबाट सीकेडी आयात गरेका हौँ,’ उद्योगका संचालक सुगम घिमिरेले भने, ‘आयात भएको सीकेडीबाट इमाडोलमा ट्रायल एसेम्बल सफल भएपछि प्लान्टबाट नियमित एसेम्बल गर्ने तयारी गरिरहेका छौँ।’

इमाडोलमा हुने एसेक्बल अस्थायी रहेको र यहाँ सफल भएपछि बारामा रहेको एसजी अटोक्राफ्टको एसेम्बल प्लान्टबाटै नियमित उत्पादन सुरु गरिने उनले जानकारी दिए। 

एसजी अटोक्राफ्टलाई ओकला ई-स्कुटर एन्ड बाइकले सीकेडीसहितको प्राविधिक सहयोग गर्नेगरी दुईपक्षबीच समझदारी बनेको छ। उक्त कम्पनीले एसजी अटोक्राफ्टलाई आवश्यक सीकेडीसहितको पार्टपुर्जा र टेक्निकल सपोर्ट गर्नेगरी आफूहरूले सम्झौता गरेको घिमिरेले जानकारी दिए। 

परीक्षण एसेम्बल गरेर नेपालमा रोड टेस्ट, रेन्ज टेस्ट तथा प्राविधिक टेस्ट गराएपछि मात्र मास प्रोडक्सनमा जानेगरी कम्पनीले काम गरिरहेको जनाएको छ। सुरुवाती चरणमा एसजी अटोक्राफ्टले ३६ वटा सीकेडी आयात गरेको हो। ओकलाले उत्पादन गरेको विद्युतीय स्कुटरको सीकेडी आयात गरिएको छ।  

एउटै उद्योगबाट विद्युतीय चारपांग्रे सवारीदेखि मोटसाइकल तथा आईसी इन्जिनयुक्त सवारी उत्पादन गर्नेगरी व्यवसायी शिवप्रसाद घिमिरेले अघिल्लो वर्ष उद्योग दर्ता गरेका थिए। बाराको सिमरामा उद्योग स्थापना गर्नेगरी उद्योग दर्ता गरिएको थियो।  

तीन अर्ब रुपैयाँको लगानीमा उद्योग खोल्नेगरी उद्योग विभागमा दर्ता भएको थियो। उद्योग विभागका विद्युती सवारी मोटरसाइल र स्कुटर, कार र जिप, बसलगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो। उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको छ। घिमिरे मुख्य गरि ग्यास व्यवसायी हुन्। 

घिमिरेले अहिले मोटरहेडको मोटरसाइकल आयात गर्दै आएका छन्। घिमिरेको आधा दर्जनभन्दा बढी ग्यास उद्योग सञ्चालनमा छन्। घिमिरेले अक्सिजन ग्यास उद्योगसमेत सञ्चालन गरिरहेका छन्। यसबाहेक घिमिरेले हाइड्रोमा समेत लगानी गरेका छन्। 

घिमिरेले उक्त एसेम्बल उद्योग स्थाापनाका लागि बाराको सिमरामा ३२ बिघा जग्गा खरिद गरेर राखेका छन्। सो जग्गामा अन्य उद्योगसहित सवारी एसेम्बलसमेत गर्ने योजना रहेको छ। सवारी उद्योगका लागि संयुक्त उक्रमका लागि छलफल भइरहेको घिमिरेले बताएका थिए।

घिमिरेले वार्षिक २१ सय वटा विद्युतीय मोटरसाइकल र स्कुटर, ६ सय चारपांग्रे विद्युती कार (एसयूभी) र १२ सय वटा तिन पांग्रे सवारीसमेत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका हुन्।

यसैगरी उद्योगबाट वार्षिक १ सय २० वटा विद्युतीय बस, पेट्रोलबाट चल्ने मोटरसाइकल १० हजार ५ सय, पेट्रोलबाट चल्ने ३ पांग्रे १५ सय वटा, पेट्रोल/डिजल इन्धन कार/जिप ६ सय वटा र  ६ पांग्रे ठूला सवारी वार्षिक ७ सय ५० वटा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको विवरणमा उल्लेख छ। 

उद्योगले ४ सय ३१ जनालाई रोजगारी दिने र २ हजार ५ सय केभी विद्युत खपत हुने दर्ता अनुमान गरिएको छ। नेपाल एसेम्बल उद्योग सञ्चालनका लागि भन्दै करिब ४ दर्जन उद्योग दर्ता भइसकेका छन्। तर हालसम्म बजाज र टीभीएसले एसेम्बल गर्दै आएका छन् भने अन्य केही ब्रान्ड एसेम्बल गर्ने अन्तिम चरणमा रहेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend