शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

चैते धानखेतीले जीविकोपार्जनमा सहज

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
चैते धानखेतीले जीविकोपार्जनमा सहज

किसानहरुले चैते धान खेतीबाट राम्रो आम्दानीसमेत लिने गरेका छन्।

घोराही- दाङको राजपुर गाउँपालिका-३ का किसान देवबहादुर पुनले यो वर्ष पनि चैते धान रोपेका छन्।

सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उनले बताए। गर्मी मौसम सुरु भएसँगै अन्य स्थानमा खडेरी परेको समयमा उनले पानीले सिञ्चित भएको करिब चार कठ्ठा खेतमा चैते धान रोपेका छन्। चैते धानका लागि पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको पुनको भनाइ छ।

'चैते धानका लागि पानीको समस्या हुँदैन। उत्पादन पनि राम्रो हुन्छ', पुनले भने, 'जसले गर्दा निरन्तर चैते धान रोप्दै आएको छु। र, यसले गर्दा यहाँ दुई बाली धान उत्पादन हुने गरेको छ।'

एकबाली मात्रै खेतीले परिवारलाई खान र लाउन समेत नपुग्ने र दुई बाली धान खेती गर्दै आम्दानी बढ्ने समेत उनको भनाइ छ। 

बंगलाची गाउँपालिका-४ गहतेराका डोरबहादुर घर्तीमगर पनि अहिले चैते धान रोप्न व्यस्त छन्। डोरबहादुरले सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कठ्ठा खेतमा चैते धान रोपिरहेको बताए। 'घर पहाडमा छ, यहाँ धान बाहेक अरु अन्नबाली बाँदर, बँदेलले खाएर सिध्याइदिन्छन्', उनले भने, 'धान रोप्दा जंगली जनावरबाट जोगाउन समेत सजिलो पर्ने गर्दछ।'

डोरबहादुर जस्तै गहतेरा निवासी गोपाल घर्तीमगरलाई पनि चैते धान रोप्न चटारो छ। सुकाखोलाको पानीले सिञ्चित खेतमा वर्षाको समय जस्तै उनको परिवार पनि खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्नमै व्यस्त छ। 

उनले करिब पाँच कठ्ठा खेतमा चैते धान रोप्न थालेको बताए। फुर्सदको समयमा चैत धानखेती थप आम्दानीको स्रोत बन्ने भएपछि लामो समयदेखि चैते धान खेती गर्दै आएको उनी बताउँछन्।

चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेती यसवर्ष केही ढिला भएको उनले बताए। 'फागुनमा राखेको धानको ब्याड चैत अन्तिमतिर रोप्नुपर्ने हो', घर्तीले भने, 'नयाँ वर्षसँगै घरको कामले केही ढिलाइ भएको थियो।'

बेमौसमी खेतीका रुपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको बताए। चैते धानबाट राम्रो आम्दानी गर्ने गरे पनि वर्षाको समयमा धान भित्र्याउन समस्या हुने उनको भनाइ छ।

उनीहरु मात्र नभइ हिउँदे बाली भित्र्याउन र फुर्सदिलो बन्ने समयमा बंगलाचुली गाउँपालिका-३ र ४ र घोराही उपमहानगरपालिका- १ सुका खोलाका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन्। वर्षमा दुई बाली धान खेती गर्ने उनीहरु चैते धान खेतीबाट राम्रो आम्दानी लिने गरेको समेत बताउँछन्।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका- १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका विभिन्न स्थानमा चैते धानखेती हुने गरेको छ। तर चैतमा रोपिने धान वर्षाको समयमा घरमा भित्र्याउन समस्या हुने गरेपछि जिल्लाका केही स्थानमा गर्दै आएका किसानले भने खेती गर्न छोडेका छन्।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८००८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend