शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खेतीबालीमा रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
खेतीबालीमा रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
फाइल तस्बिर

निकै खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहेका गेमबहादुर गर्बुजाले बताए।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीका गेमबहादुर गर्बुजाले सयभन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैँसीको मलमूत्र संकलन गरेर राखेका छन्। घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब संकलन हुने खाडल बनाएकी छिन्।

खाडलमा जम्मा हुने भैँसी, गाई र गोरुको पिसाब फगामीले पनि ड्रम र बोत्तलमा संकलन गरेर राखेकी छिन्। 'खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न गाईबस्तुको पिसाब संकलन गरेका हौँ,' उनले भनिन्, 'रासायनिक मलको विकल्पमा जैविक कम्पोष्ट र विषादीको विकल्पमा गाईवस्तुको पिसाब प्रयोग गरेका हौँ ।'

निकै खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहेका गर्बुजाले बताए।

एकसय पाँच घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले रासायनिक मलको विकल्पमा स्याउला र गाईबस्तुको गोबर कुहाएर प्रांगारिक मल प्रयोग गर्ने गरेको उनले बताए। 'तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,' घराम्दीका ६५ वर्षीय तिलक पुर्जाले भने, 'मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन।' आलु, गहुँ र मकै घराम्दीको मुख्य खेतीबाली हुन्। 

कीरा भगाउन संकलित गहुँत खेतबारीमा छर्केने गरेका छन्। डडुवा नियन्त्रण गर्न गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिमुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी भएको स्थानीय तीर्थ फगामीले बताए।

उनका अनुसार जैविक प्रविधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ। बेनी, कुश्मा, बागलुङ र पोखरामा घराम्दीको आलु खपत हुन्छ। आलु खेती घराम्दीवासीको प्रमुख आयस्रोत हो। यहाँबाट वार्षिक रु एक करोड भन्दा बढी मूल्यको आलु निकासी हुने पूर्व वडाध्यक्ष गमबहादुर फगामीले बताए।

गाईबस्तुको पिसाब संकलन व्यवस्थित गर्न भकारो सुधार गर्ने गाउँपालिकाले योजना बनाएको छ। वडा अध्यक्ष मइलन पुर्जाले भकारो सुधार र पिसाब संकलन तथा भण्डारण गर्ने प्राविधिक ज्ञान सीप प्रदान गर्न तालिम सञ्चालन गरिने बताए। बजारमा ‘अर्गानिक’ कृषि उपजको माग बढेकाले जैविक खेती व्यवस्थित बनाउने योजना रहेको वडाध्यक्ष पुर्जाले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८००७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend