शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बाख्रापालनलाई व्यावसायीकरण गराउने प्रयासमा निस्दी, आम्दानीको स्रोत बढाउँदै किसान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
बाख्रापालनलाई व्यावसायीकरण गराउने प्रयासमा निस्दी, आम्दानीको स्रोत बढाउँदै किसान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको बाख्रा पकेट कार्यक्रममा निस्दी गाउँपालिकाका एकसय ३४ घरपरिवार सहभागी छन्।

रामपुर- बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी-४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आबद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ। पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक/एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङी बताउँछन्।
 
'बाख्रापालनको राम्रो सम्भावना बोकेको निस्दीमा हिजोआज व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनलाई विभिन्न सहयोगका कार्यक्रममा जोड दिइएको छ', उनले भने। पकेट कार्यक्रममा यहाँका एकसय ३४ घरपरिवार सहभागी छन्।

परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा र अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउ लगायतका सामग्री वितरण गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा पालिकाबाट विनियोजित १५ लाख र केन्द्र सरकारको करिब दश लाख रूपैयाँ सहयोगमा माउ तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ।

निस्दीका वडा नं ४ र ५ मा दुई बाख्रा पकेट क्षेत्र छन्। बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रममा पालिकाले सहयोग गरिरहेको हुँदा पछिल्लो समय यहाँका स्थानीयले बाख्रापालनबाट आम्दानीको स्रोत बढाउँदै गएको पालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताए। बाख्रापालनबाट यहाँका किसान आत्मनिर्भर बन्दै गएका छन्। प्रशस्त चरन र घाँस भएकाले किसानले व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी लिन थालेका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८००९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend