शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

कञ्चनपुरमा ३१ हजार दुईसय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ।

बेदकोट- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे।

खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए। 'गाउँमै गहुँको राम्रो मूल्य पाइयो, 'हामीले चारहजार रूपैयाँदेखि चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ', कृषक चौधरीले भने, 'खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ।'

खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल तीनहजार तीनसय रूपैयाँ ५१ पैसा निर्धारण गरेको छ। ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारदेखि चार हजार दुईसय रूपैयाँसम्ममा खरिद बिक्री भइरहेको छ। 'विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्', किसान चौधरीले भने, 'त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ।'

किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन्। गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन। उक्त संस्थाले गत चैत १४ मा मूल्य निर्धारण गरेर १६ गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए।

'हाम्रोभन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन', उनले भने, 'त्यसैले यो निर्णय पुनःविचार गर्न आग्रह गरेका छौँ, गहुँको चलनचल्तीको मूल्य चार हजार रूपैयाँ उल्लेख गरेर पठाएका छौँ।'

३२ हजार दुईसय १० हेक्टरमा गहुँ खेती

जमिनमा गहुँखेती गरिएको छ। यसपटक जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ।

समयमै खेती, सिँचाइ र उन्नत बिउँबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए। 'यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन', उनले भने, 'समयमै सिँचाइ र उन्नत बीउँको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ।'

यसवर्ष तीनदेखि साढे तीन मेट्रिकटन प्रतिहेक्टर गहुँ उत्पादन हुने केन्द्रको अनुमान छ। कञ्चनपुरमा ३१ हजार दुईसय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ। गतवर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेकामा ९४ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो। जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँखेती हुने गरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८००९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend