बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१७ अर्बका तीन इन्भेष्टमेन्ट कम्पनी, कसले केमा गर्दैछन् लगानी?

शनिबार, वैशाख ९ २०८०
१७ अर्बका तीन इन्भेष्टमेन्ट कम्पनी, कसले केमा गर्दैछन् लगानी?

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ९ महिना (साउनदेखि-चैतसम्म‌)मा तीन ठूला इन्भेष्टमेन्ट कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। उद्योग विभागका अनुसार बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र वान क्यापिटल होल्डिङ्ग्स प्रालि दर्ता भएका छन्। 

तीन इन्भेष्टमेन्ट कम्पनीमार्फत कुल १७ अर्ब ९० करोड रुपैयाँ लगानी हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ। जसमध्ये बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालि र भूमि इन्फ्रास्ट्रक्चर प्रालिमा समान ५ अर्ब ९५ करोड रुपैयाँ लगानी रहनेछ। यसैगरी वान क्यापिटल होल्डिङ्ग्स प्रालिमा ५ अर्ब रुपैयाँ रहेको छ। 

बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालिले स्वास्थ्यका पाँचवटा परियोजना, एक हाइड्रोपावर, पर्यटनमूलक उद्योगका ५ वटा परियोजना, सूचना प्रविधितर्फका ५ वटा परियोजना, पाँचवटा लजिस्ट्रिक परियोजना र पाँचवटा एभिएसन परियोजनामा लगानी गर्ने दर्ता विवरणमा उल्लेख छ। यसमा सतप्रतिशत नै विदेशी लगानी रहनेछ। 

यसैगरी भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङले निर्माण क्षेत्रमा लगानी गर्नेगरी उद्योग विभागमा दर्ता गरेको छ। कम्पनीले सडक निर्माण, पुल, फ्लाई ओभर, सब-वे, सुरुङ, रोप-वे, रेलवे, विमानस्थल, हाइड्रोपावर, विद्युत प्रसारण लाइन, ड्याम, सिचाँइ, खानेपानी, व्यावसायिक भवन तथा हाउजिङमा १४ अर्ब रुपैयाँसम्म लगानी गर्ने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ। यो कम्पनीमा सतप्रतिशत नै नेपाली लगानी रहने छ। 

वान क्यापिटल होल्डिङ्ग्स प्रालिले इनर्जी वेस उद्योग हाइड्रोपावर र सोलार विद्युत उत्पादनमा १ अर्बसम्मको लगानी इन्भेष्टमेन्ट गर्ने लक्ष्यसहित दर्ता भएको छ। साथै उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

वान क्यापिटलले केबलकार तथा सडक निर्माणमा ३ अर्ब रुपैयाँसमेत लगानी गर्ने जनाएको छ। यो कम्पनी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा उनका भाइ हेमराज ढकालको ५० प्रतिशत र प्रत्यक्ष वैदेशिक लगानीको ५० प्रतिशत हिस्सा रहनेगरि नयाँ कम्पनी उद्योगमा दर्ता भएको छ।  विभागको दर्ता विवरणअनुसार ५० प्रतिशत नेपाली र ५० प्रतिशत विदेशी लगानी रहने उल्लेख छ।


प्रकाशित : शनिबार, वैशाख ९ २०८०००:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend