बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समोसा बेचेरै शिवलालले घर बनाए, सपना पूरा गरे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
समोसा बेचेरै शिवलालले घर बनाए, सपना पूरा गरे

शिवलाल चौधरी पैसाकै लागि विदेश जानु मूर्खता भएको बताउँछन्। कामको सम्मान गर्न सिकेको मान्छेले विदेशिनु नपर्ने उनको भनाइ छ।

भजनी- कैलालीको टीकापुर नगरपालिका-१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो।

उनको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने  ठेला छ। बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ। त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उनको जीवनशैली र पूरा भएको सपना।

अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने। कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधैँ चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्किए। त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गरेका उनले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लागे।

'चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो', शिवलाल भन्छन्,  'के खाने भन्ने थियो। त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो। त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ। मनमा निकै पीडा महसुस हुन्छ।'

अहिले शिवलालको जीवनी निकै फेरिएको छ। उनले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन। समोसा बेचेरै उनले जग्गा खरिद गरे। एउटा सुन्दर घर पनि बनाए। समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै गए। तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन्। त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाए। 'कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन। समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु', उनी भन्छन्, 'दुवै छोरा व्यापार गर्छन्। अहिले सबै आ-आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ।'

शिवलालले समोसा बेच्न सुरु गरेको समय दुई समोसाको पाँच रुपैयाँ पर्थ्यो। अहिले समय निकै बदलिएको छ। तत्कालीन समयमा पाँच रूपैयाँका दुई समोसा बेच्ने उनी अहिले २० रूपैयाँको एउटा समोसा बेच्छन्। ग्राहकको कमी छैन।

दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ। राम्रो आम्दानी गर्दै आउनुभएका शिवलालको सफलतमा उनकी श्रीमती राजकुमारीको ठूलो देन छ। शिवलालले गरेका हरेक संघर्षमा सँगसँगै हिँडेकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उनी बताउँछन्। 'मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्-श्रीमती छुटिनुपरेको छैन। श्रीमतीले समोसा बनाउने काम गर्छिन्। म पकाउने र बिक्री गर्ने', शिवलालले भन्नुभयो, 'साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ।'

शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो। त्यो सपना भने पूरा हुन नसकेको उनी बताउँछन्। छोराहरूले सीप सिकेर आफै स्वरोजगार बनेकामा भने गर्व छ। उनको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बसेका छन् भने कान्छो छोरा काठमाडौंमा व्यापार गर्छन्।

उनी पैसाकै लागि विदेश जानु मूर्खता भएको बताउँछन्। कामको सम्मान गर्न सिकेको मान्छेले विदेशिनु नपर्ने उनको भनाइ छ।

'विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ। समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ', उनी भन्छन्, 'नभए यतै पनि कमाई राम्रो छ। महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन। किन विदेश जानुपर्‍यो?' रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend