शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीले गर्‍यो निरीक्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीले गर्‍यो निरीक्षण

पाँचसय मिटर लामो पुलको लागत चार अर्ब ५७ करोड लाग्ने अनुमान गरिएको छ। त्यसअघि सर्भेक्षण, विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र मुआब्जाका लागि थप २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ।  

images
images

बैतडी- नेपाल-भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ। भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको हो।

images
images
images

पाँचसय मिटर लामो उक्त पुलको लागत चार अर्ब ५७ करोड लाग्ने अनुमान गरिएको छ। त्यसअघि सर्भेक्षण, विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र मुआब्जाका लागि थप २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ।

images
images

पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ। झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ। उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने संकेत देखिएको छ। 

images
images
images

झोलुंगे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकिएकोे थिएन। सन् २०१७ मा डुबान हुने क्षेत्रभन्दा माथि पुल निर्माण गर्ने निर्णय भएकामा सोही स्थानमा निरीक्षण गरिएको हो।

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आशावादी देखिएका छन्। झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक र व्यापारिक गतिविधिमा सुधार आउने स्थानीयवासी तेजप्रकाश भट्टले बताए। उनले भने, 'प्राविधिक टोलीले पुल निर्माणका लागि निरीक्षण गर्नु निकै खुसीको कुरा हो, मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक उन्नति बढ्छ।'

सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको उत्पादनको बजार विस्तार हुनाका साथै धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौँका व्यापारी दीपक बोहराले बताए। उनले भने, 'मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिनेछ।'

सीमानाका झुलाघाटमा हाल झोलुंगे पुल छ। झण्डै चारसय वर्ष पुरानो झोलुंगे पुल बेलाबेला मर्मत गरिँदै आएको छ। तत्कालका लागि काम दिने गरी मर्मत गरिएको पुलमा जोखिम भने कायमै छ। बेलायती सरकारकोे पालामा बनेको पुल १८३० देखि सञ्चालनमा आएको थियो। पुरानो काठको पुल भारतीय पक्षले बेला-बेलामा काम चलाउनका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन। पुल मर्मत नहुँदा सयौँ जोखिम मोलेर दैनिक यात्रा गर्न बाध्य छन्।

सीमा क्षेत्रका नागरिकले लामो समयदेखि झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि माग गर्दै आएका छन्। उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए। पक्की पुल निर्माणका लागि  बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो।

झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पुरानो तथा मुख्य नाकाका रुपमा चिनिन्छ। उक्त नाका भएर सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका नागरिकसमेत आवतजावत गर्ने गर्दै आएका छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend