शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडौं जान्छन्। गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन्। 

चौतारा- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ डडुवा, रानीटार र झुलेटारका तीनसय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन्।

'म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ', गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन्। दुईचार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ। गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ।

अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेकी छिन्। उनी भन्छिन्, 'श्रीमान् शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न। रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ।'

खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको मीना बताउँछिन्।

हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडौं जान्छन्। गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन्। 

यो क्षेत्र समुन्द्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा छ। दक्षिणपट्टि फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिन्छ। सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेको राम तामाङ बताउँछन्।

धेरै क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका उद्धव नेपालको परिवारले २० लाखको बेचिसकेको छ।

अहिले गोलभेँडा र काउली मात्र भए पनि यामअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मनग्य आम्दानी भित्र्याउने गरेका छन्। 

चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि व्यवसाय फस्टाउँदै गएको छ। तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ।

किसानले खर्च कटाएर बचेको पैसा बचत गर्न थालेको नेत्रज्योति कृषि सहकारी संस्थाका प्रबन्धक नेत्रबहादुर बस्नेतले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend