शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

आलु महोत्सवमा ५ करोडको आलु बिक्री

सोमबार, वैशाख ४ २०८०
आलु महोत्सवमा ५ करोडको आलु बिक्री

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो।

गण्डकी- आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ। गत चैत २६ गतेदेखि सुरु भएको ११औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोड रुपैयाँको कारोबार भएको हो। 

हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ। 

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो। 

त्यस्तै हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए। त्यस्तै सो अवसरमा शाखाले किसान परिचयपत्र पनि वितरण गरिएको थियो। 

सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्दै आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको छ जनाउँदै कृषिलाई आयआर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि औँल्याए। क्लबको बुहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उनले स्पष्ट पारे।

पोखरा–२५ हेमजाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेकोमा खुसी व्यक्त गर्दै योसँगै हेमजाको इज्जत बढेको स्पष्ट पारे। प्रवक्ता तिम्सिनाले महोत्सवका महानगरको कृषि महाशाखाको भूमिका प्रशंसनीय रहेको पनि जनाए। 

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याए। 

त्यस अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला सञ्जाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियान्ता मदन थापा, कृषि सञ्जालका अध्यक्ष राजेन्द्र कार्कीलगायतले पनि धारणा राखे। 

महोत्सवमा करिब पाँच करोडका कारोबार भएको छ। आलु मात्रै ८० टन बिक्री भएको छ। हेमजाको आल छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। 

महोत्सवकै अवसरमा भएका रत्यौती गीत, झाँकी प्रदर्शनीलगायका सहभागीलाई क्लबले सम्मान गरेको छ। त्यस्तै प्रत्येक आमा समूहलाई दुई वटाका दरले कर्चीसमेत प्रदान गरिएको छ। 

महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोट बिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषिउपज, बीउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायतका कार्यक्रम गरिएको हो। रासस


प्रकाशित : सोमबार, वैशाख ४ २०८००४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend