बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेल भोल्टे सेवा अब आइफोनमा पनि उपलब्ध हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
एनसेल भोल्टे सेवा अब आइफोनमा पनि उपलब्ध हुने

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्।

काठमाडौं-  यो नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन्।

एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात एनसेलले अब 
आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्।

एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन-नेट भोल्टे टक टाइम पाउनेछन्। आइफोन ८ र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरुले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन्।

यसरी योग्य भएका ग्राहकले *१७२०१# डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन्। भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आइफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ।

यसअन्तर्गत आफ्नो भौतिक सिमलाई ई-सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउँछन्। बोनस डेटा नेपालमा नै अवस्थित आइफोनको आधिकारिक बिक्रेतामार्फत आइफोन खरिद गरेका ग्राहकहरुका लागि लागु हुनेछ।

आइफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ।

ई-सिम सुचारु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन। अन्य ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई-सिम निशुल्क लिन सक्छन्। एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन्।

ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ।  


प्रकाशित : आइतबार, वैशाख ३ २०८०११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend