शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई, थ्रेसरको पालो पाउनै गाह्रो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई, थ्रेसरको पालो पाउनै गाह्रो

परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका किसानसमेत यतिबेला आधुनिक उपकरण प्रयोग गरी गहुँ भित्र्याइरहेको पाइन्छ।

कैलाली- कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ। हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो।

खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन्।

धनगढी उपमहानगरपालिका-२ भन्सार कटानगाउँकी कृषक सताल्ली रावलले खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, 'हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ।'

केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि यस क्षेत्रका किसानको अधिकांश समय खेतबारीमै बित्ने गरेको छ। किसानका परिवारका सबै सदस्य प्रायःजसो खेतबारीमै भेटिने गर्दछन्।

त्यस्तै खेतमा गहुँ काट्दै गरेका धनगढी-३ बैयाबेहडीका किसान माइला चौधरीले रातिको १२ बजेसम्म पनि गहुँ भित्र्याउनका लागि थ्रेसर मेसिनको पालो कुर्नुपरेको कुरा सुनाए। गहुँ थ्रेसर गर्नका लागि पालो पर्खँदासमेत थ्रेसर नपाएरै फर्कनुपरेको चौधरीले दुःखेसो पाेखे।

परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका किसानसमेत यतिबेला आधुनिक उपकरण प्रयोग गरी गहुँ भित्र्याइरहेको पाइन्छ। किसान एकअर्कासँग पालोपैचो तथा पर्म गर्दै गहुँ काट्ने र थ्रेसर लगाएर भित्र्याउने गरिरहेका छन्।

गहुँ भित्र्याउने चटारोका कारण नयाँ साल आएको महसुससमेत नभएको धनगढीकै अर्का किसान बखतबहादुर चौधरीले बताए। 'नयाँ साल त आयो तर के गर्ने आफ्नो खेतमा गहुँ, मसुरो पाकेर झर्ने अवस्थामा पुगेको छ, पाकेको बाली भित्र्याउन पाइदिएको भए ढुक्क भइन्थ्यो', उनले भने, 'घर खर्च चलाउने आर्थिक उपार्जनको बाटो र वर्षभरिलाई खान पुग्ने अन्न यही खेतीपाती नै हो।' 


प्रकाशित : शनिबार, वैशाख २ २०८०११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend