शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

खेतबारीका सुरसुरमा बिजुली बालेर धुआ ठड्याएपछि राहत मिलेको किसान बताउँछन्।

महोत्तरी- वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भंगाहा-४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन्। बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना-कुनामा बिजुली बालेर ठाउँ-ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ।

'यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे', उनले भने, 'खेतबारीका सुरसुरमा बिजुली बालेर धुआ ठड्याएपछि राहत मिलेको छ।'

यादवले जस्तै सो बस्तीका अन्य किसानले पनि यो तरिका अपनाएपछि वन्यजन्तुको बिग्याइँ कम भएको छ। 'आँखा झिमिक्क गर्न पाइन्नथ्यो, अहिले अलि राहत भएको छ', स्थानीय बहुरा महतो भन्छन्।

मकै, गहुँ, उखु र तरकारी बाली लगाएका खेतबारीमा ‘धुआ’ ठड्याउने पुरानै चलन हो। अहिले यो पुरानो जुक्ति पछ्याएर गरिएको कामबाट बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोष महसुस गरेका छन्। 

'बिजुली पहिले नहुँदा त्यतिखेरका किसानले बाली भएको खेतबारीमा राँको बाल्ने र बुख्याचा ठड्याउने गर्थे, यो पुरानो चलन हराएको थियो', स्थानीय अरुण गिरीले भने, 'पुरानो यो विधि प्रभावकारी नै रहेछ।' यो तरिका खासै खर्चिलो नभएको किसान बताउँछन्। बिजुली बाल्न धेरथोर खर्च भए पनि ‘धुआ’ त पुराना झुत्राझुत्री लुगा र बाँसका भाटाले नै ठड्याउन सकिन्छ। 

'हैरान भइन्थ्यो, राती पनि सुत्न पाइन्नथ्यो', बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने, 'यसपालि हिउँदमा तरकारी बारीमा तीन-चार ठाउँ बिजुली बालेर धुआ (मैथिलीमा मुर्कट) ठड्याइएपछि सहज भएको छ।'

वन्यजन्तुले बाली खाएको देखेपछि लघार्दा कैयौँ बस्तीमा नीलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ। पछिल्ला केही वर्षयता महोत्तरीमा वन क्षेत्रबाट जिल्लाको भारतीय सीमावर्ती भेगसम्म नीलगाई र बँदेल बस्ती-बस्ती पसेर बालीनाली नोक्सान गरेपछि किसान दिक्क हुँदै आएका छन्।

दुम्सी र बाँदरचाहिँ वनक्षेत्र नजिकका बस्तीमा मात्र पसे पनि बँदेल, हरिण र नीलगाई सुदूर दक्षिणी भेगसम्म देखिएका छन्। दिनभरि घारितिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, नयाँ उखुका हुर्कँदै गरेका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान पारेका बेला ‘धुआ’ र ‘बिजुली’ले आफूहरूलाई राहत दिएको किसानको भनाइ छ।

पछिल्लोपटक भंगाहा र बर्दिबास नगरक्षेत्रका किसानले अपनाएका यो तरिका अब जिल्लाका अन्य भेगका किसानले पनि अनुशरण गरेका छन्। 'बिजलपुरा आफन्त भेट्न गएको थिएँ, त्यहाँ बिजुली र धुआ वन्यजन्तुको क्षति रोक्न प्रभावकारी बनेको देखेँ', बर्दिबासका-१० बटुवाका लक्ष्मीप्रसाद सिंह कुशवाहाले भने, 'आफ्नो बस्ती फर्केर यो उपाय अपनाएँ, अहिले त धेरै किसानले यो सिको गर्नुभयो।'

अहिले महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, भंगाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकाका बस्ती-बस्तीमा वन्यजन्तुबाट बाली जोगाउन किसानले ‘धुआ’ र ‘बिजुली’को उपाय अपनाएका छन्। रासस 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend