शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

फस्टाउँदै ड्रागन फ्रुटखेती

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
फस्टाउँदै ड्रागन फ्रुटखेती

ड्रागन फ्रुटको खेतीबाट व्यवसायीले वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन्। यस वर्ष ३० देखि ४० लाख रूपैयाँको ड्रागन फ्रुटको कारोबार हुने व्यवसायी भूपेन्द्र थापाको अनुमान छ।

बनियानी- झापामा पछिल्लो समय ड्रागन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ।

एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्रागन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो। 

कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्रागन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन्। गौरीगञ्ज गाउँपालिका-२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत आठ बिघामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका छन्। उनले दुई वर्षअघि खेती सुरु गरेकामा गत वर्षदेखि उत्पादन सुरु भइसकेको छ।

अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्रागन फ्रुट खेती थालेको थापाको भनाइ छ। 'अघिल्लो वर्ष १२ लाख रूपैयाँको बेचेँ', उनले भने, 'यो वर्ष पनि फूल फुल्न र चिचिला लाग्न थालेको छ।' 

यस वर्ष ३० देखि ४० लाख रूपैयाँको ड्रागन फ्रुटको कारोबार हुने उनको अनुमान छ। गतवर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै थापाले यस पटक बजारको अवस्था केही असजह भएको सुनाए।

'महँगो फल हो, बजार पनि असहज छ। यस पटक काठमाडौंसम्म ड्रागन फ्रुट पुर्‍याउने सोच छ', उनले भने। थापाले व्यावसायिक खेतीका लागि कृषि ज्ञान केन्द्र झापाबाट सात लाख रूपैयाँ अनुदानसमेत पाएका छन्। गतवर्ष कार्यालयमार्फत् पिलर र थोपा सिँचाइका लागि उक्त रकम अनुदान पाएको उनले बताए।

अर्जुनधारा-११ का कृष्ण गौतमले श्री एग्रिकल्चर नर्सरी स्थापना गरी आठ कठ्ठामा एक हजार ६६ ड्रागन फ्रुटको बिरुवा लगाएका छन्। 'झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्रागन फ्रुट खेती सुरू गरेको हुँ', उनले भने, 'खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ।'

धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने र बजार मूल्य राम्रो भएका खेती सुरु गरेको उनले बताए। ढुवानीसहित दुई सय ५० रूपैयाँको दरले धरानबाट ‘रोज पिटया’ नामक ड्रागन फ्रुट बिरुवा किनेर खेती थालेको उनको भनाइ थियो। 'सुरुमा बीउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने भएपछि बिरुवा नै किनेर लगाएको छु', उनले बताए।

ड्रागन फ्रुट एक पटक लगाएपछि सोहीबाट अरु बिरुवा उत्पादन गर्न सकिने गौतमले बताए। एउटा पिलरमा चार वटा बिरुवा लगाउन सकिने र सोबाट ५ देखि ४० केजीसम्म ड्रागन फ्रुट फल्ने उनको भनाइ छ।

जिल्लामा छिटफुट रूपमा सुरु भएको ड्रागन फ्रुट यतिबेला करिब ५० बिघा क्षेत्रफलमा फैलिइसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। 'एकै जनाले आठ बिघासम्म खेती गरिररहेका छन्', उनले भने, 'झापामा पछिल्लो समय ड्रागन फ्रुट खेती फस्टाउँदो छ।'

झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारालगायत स्थानमा किसानले ड्रागन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन्। पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताए। मल र सिँचाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौंसम्म फल्छ।

ड्रागन फ्रुटको सिजन चैतदेखि असोजसम्म मानिन्छ। चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ। कृषि ज्ञान केन्द्र झापाले ड्रागन फ्रुट खेती प्रवद्र्धनका लागि सिँचाइ र पिलरका लागि अनुदान दिइरहेको छ। रासस 


प्रकाशित : आइतबार, चैत २६ २०७९११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend