शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन, गर्छन् मनग्य आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन, गर्छन् मनग्य आम्दानी

गुणराज राउतले तीन देशमा गरी १५ वर्ष विदेशमा बिताए तर सोचेजस्ताे आम्दानी गर्न सकेनन्। स्वदेशमा बाख्रापालनबाट भने उनले राम्राे आम्दानी गरिरहेका छन्। वार्षिक तीन देखि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

भोजपुर- व्यावसायिक बाख्रापालनमा लागेका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक तीन देखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्। उनले टेम्केमैयुङ गाउँपालिका-१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन्।

उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एकसय ५० बाख्रा छन्। विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रापालन गर्दै आएको राउतले बताए। 'तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए। धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ। विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु। यो व्यावसायबाट राम्रो आम्दानी भइरहेको छ', उनले भने।

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ। विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उनले बताए। 'ठूलो सपना देखेर विदेश गएँ', उनले भने, 'विदेश जानु पहिला यही व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ। अहिले पछुताएको छु। योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ।' 

बाख्रालाई समय-समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो। ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए।

'बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ', राउतले भने, 'राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु। तर भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।'

उनले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताए।

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आएका छन्। उनले  वार्षिक तीनदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको बताए।

'विदेशमा लामो समय बिताए। सोचजस्तो आम्दानी गर्न सकिनँ', उनले भने, 'अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु। परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु।'

विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आएका छन्। व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ। 'विदेशमा धेरै नै दुःख छ', उनले भने, 'यहाँ दुःख गरेको सबैले देख्छन्। परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ।  विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन।' विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उनको भनाइ थियो।

विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन्। आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समूया हुने गरेको उनीहरुको भनाइ छ। कृषिका क्षेत्रमा राज्यले तालिम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने किसानले बताएका छन्। रासस 


प्रकाशित : शनिबार, चैत २५ २०७९०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend