शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

तरकारी खेतीबाट हरिलाल घिमिरेले महिनाको सरदर ८० हजारदेखि एक लाख रूपैयाँसम्म आम्दानी गर्छन्।

गलेश्वर- बञ्चरेढुंगाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय। सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्छन्। उनीमा युवाको जस्तै जोस र जाँगर कायमै छ।

करिब ३५ वर्ष अघि मलेसिया गएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताए। मलेसिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उनी गाउँ फर्किए। 

म्याग्दीको बेनीनगरपालिका-२ बन्चरेढुंगाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उनको जीवनमा खुशीयाली छाएको हो। घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्छन्। त्यसबाट वार्षिक १० लाख कमाउँछन्। छोरा, छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन परेको छैन। 

हरिलाल जस्तै बेनी नगरपालिका-२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की, शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी लाभ लिन सफल भएका छन्। गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवा छन्। 

देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइ बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरे पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन्। 'सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन', हरिलालले भने, 'कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ।' 

 विसं २०६६ देखि व्यावसायिक प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले १४ रोपनीमा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, काँक्रो, मुला, धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन्। तरकारी बिक्री गरेर घिमिरेले वार्षिक १० लाख रूपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए। घिमिरेले भने, 'उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले छोरालाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो।'

अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला, बन्दा, काउली, केराउ, धनियाँलगायतका तरकारी लटरम्मै फलेका छन्। खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ। दुई छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन्।

'तरकारी बेचेर नै एक दिनमा तीन हजार रूपैयाँको आसपासमा कमाइ हुन्छ', घिमिरेले भने, 'महिनाको सरदर ८० हजारदेखि एक लाख रूपैयाँसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानु विदेश।'

'२१ वर्ष खाडी मुलुकमा बिताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोसिलो खानेकुरा जुटाउन सकेको थिएन', घिमिरेले विगत सम्झँदै भने, 'अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन। सबै खर्च तरकारी खेतीबाट नै जुटेको छ।' जिल्लाका छ स्थानीय तहका ७० भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्ति व्यावसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ। रासस 


प्रकाशित : शनिबार, चैत २५ २०७९०५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend