बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद बैशाख ९ गते

आइतबार, चैत १९ २०७९
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद बैशाख ९ गते

काठमाडौं- ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’को छैटौँ संस्करण आउँदो बैशाख ९ गते हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गरिएको जानकारी गरायो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख ९ गते बिहान गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता र परिसंवादको शुभारम्भ गर्ने कार्यक्रम छ। परिसंवादमा देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सहभागी हुनेछन्। गल्फ प्रतियोगितामा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाले जनाएको छ।

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल समेत सार्वजनिक गरियो। गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ। आर्थिक परिसंवादमा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्ति सहभागी हुनेछन्।

प्रतियोगितामा करिब सय गल्फरले भाग लिनेछन्। काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी कर्पोरेट गल्फर पनि सहभागी हुनेछन्। गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको छ। यसअघि, पोखरा, धरान सगरमाथा क्षेत्रको कोङ्दे रीमा प्रतियोगिता गरिएको थियो । पहिलो दुई संस्करण गोकर्ण गल्फ कोर्समै  सम्पन्न भएका थिए।

प्रतियोगिताको अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अरू पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधाका विजेताले ट्रफी तथा प्रमाणपत्र पाउनेछन्।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन्। प्रतियोगीले गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्।

आर्थिक परिसंवादमा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन्।


प्रकाशित : आइतबार, चैत १९ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend