शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
बेमौसमी वर्षाले गहुँबालीमा क्षति

खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको छ।

लुम्बिनी- दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ। बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का कृषक चिन्नु यादवले बताए।

'हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ', उनले भने। 

कोटहीमाई-३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुईदिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ। 'खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ', उनले भने, 'दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ।'

कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए। उनले भने, 'हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ।'

अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उनको भनाइ छ। 'यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन', उनले भने, 'जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण सकिन्थ्यो कि?'

कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित चार प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना छ। अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको उनले बताए। 

'वर्षा र हावाहुरीले खेतमा लडेको र भिजेको गहुँ अधिकांश कालो भएर बिग्रिने सम्भावना रहेको छ', उनले भने।

खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको उनको भनाइ छ।
 
'पानीले भिजिसकेको गहुँ सुक्खा गहुँभन्दा कम क्षमताको हुन्छ र भिजेको गहुँ धेरै दिन भण्डार गर्दा बिग्रिएर जान्छ', उनले भने।बेमौसमी पानीले भिजेको गहुँको वा नष्ट भएको गहुँको निश्चित तथ्यांक विभिन्न पालिकासँग समन्वय गरी संकलन गरिरहेको उनले बताए।

यस वर्ष रूपन्देही जिल्लामा २६ हजार सातसय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ। प्रवक्ता बनियाँले भने, 'सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ।' गत वर्ष २६ हजार ६ सय ८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन एक लाख दुई हजार दुईसय ५० मेट्रिक टन भएको उनले बताए। रासस


प्रकाशित : आइतबार, चैत १९ २०७९०५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend