बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रवासी कामदार लक्षित मोबाइल एप ‘उज्ज्वल सपना’ सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
प्रवासी कामदार लक्षित मोबाइल एप ‘उज्ज्वल सपना’ सार्वजनिक

‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरुका लागि श्रम कानून र अधिकार, मेनपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो।

काठमाडौं- प्रवासी कामदारलाई लक्षित गरेर गैरसरकारी संस्था इसरा नेपालले ‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक गरेको छ। 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गरेका हुन्। 

‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरुका लागि श्रम कानून र अधिकार, मेनपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो। यो एपमा बर्मेली, खमेर र नेपाली भाषामा नेपाल र गन्तव्य मुलुकका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। 

कार्यक्रममा सहसचिव पोखरेलले नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए। ‘जबसम्म हामीले उत्कृष्ट आन्तरिक रोजगारी सृजना गर्न सक्दैनौँ, तबसम्म वैदेशिक रोजगारीमा भर पर्नुपर्ने बाध्यता भएकाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनु आवश्यक छ’, उनले भने।

सहसचिव पोखरेलले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने भन्दै विदेशमा सिकेका सीप प्रयोग गरेर नेपालमा रोजगारी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले श्रमिकमैत्री वैदेशिक रोजगार ऐन बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै पाँच वर्षे रणनीति तयार गरेर काम अगाडि बढाइएको जानकारी दिए।

आप्रवासन विज्ञ केशव बस्यालले कामका लागि नेपालबाट वार्षिक २० देखि २५ प्रतिशत मानिस बाहिर जाने गरेको र सोही अनुसार प्रतिफल प्राप्त नभएको बताए। दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले सरकारको मापदण्ड के हो भन्ने कुरा पनि एपमा समेटिनुपर्ने बताए। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कामदार पठाउन कामदारको माग लिन मेनपावर कम्पनीहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धाले मजदुर मारमा परेको बताए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रमा पारदर्शिताको कुरा मात्रै भएको तर काम नभएको बताए। सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर कार्कीले यो एपले सबैलाई एउटै स्थानमा ल्याउन सहयोग पुर्‍याउने बताएका थिए। रासस 


प्रकाशित : बुधबार, चैत १५ २०७९११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend