शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अनुदानमा पाएको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
अनुदानमा पाएको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित

पालिकाले ११ लाख २१ हजार पाँचसय ६९ मा रामपुर जातको मकैको बीउ खड्का कृषि भण्डारबाट खरिद गरेको थियो। पालिकाले खरिद गरेको बीउ नगरका ८४ जना किसानलाई वितरण गरेको थियो।

झापा- मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन्। पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बीउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो।

मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बीउ नम्रिएको गुनासो लिएर आउने गरेको बताए। उनले भने, ‘सबै किसानले लैजानु भएको बीउ नम्रिएको होइन, विभिन्न लटमा बीउ वितरण गरिएको थियो। त्यसमध्ये एक लटको मकैको बीउमा उमार शक्ति नभएको पाइयो।’  

नगरमा गुनासो लिएर आउने किसानलाई पुनः बीउ दिएर पठाइने गरेको उनको भनाइ छ। उनले नगरपालिकाले बीउ उपलब्ध गराउन दरभाउपत्र माग गर्दा मेचीनगर-१० धुलाबारीस्थित खड्का कृषि भण्डारले बीउ उपलब्ध गराउने बोलपत्र पारेका बताउँदै भने, ‘उसैसँग सम्झौता गरी बीउ खरिद गरेर किसानलाई वितरण गरिएको थियो। केही समस्या आयो।’ 

पालिकाले ११ लाख २१ हजार पाँचसय ६९ मा रामपुर जातको मकैको बीउ खड्का कृषि भण्डारबाट खरिद गरेको थियो। उनले पालिकाले खरिद गरेको बीउ नगरका ८४ जना किसानलाई वितरण गरिएको जानकारी दिए। वडा नं २ का वडाध्यक्ष दीपक बरालले किसानले आफूलाई पनि मकैको बीउ नम्रिएको बारेमा जानकारी गराइरहेको बताए। ‘किसानले बीउ ल्याएकै थाहा छैन। एकैपटक गुनासो आउँदा मात्र थाहा भयो। नगरको कृषि शाखाले अध्ययन अनुसन्धान गरिरहेको होला’, उनले भने। 

कृषि शाखाले किसानलाई बीउ दिए पनि खेत जोताउँदा र बीउ रोप्दा लागेको खर्च उपलब्ध गराउनुपर्ने वडा नम्बर-२ का किसान देबेन्द्र ढकालको माग छ। उनले भने, ‘किसानलाई बीउ मात्र होइन अब खेत जोताउँदा लागेको ट्याक्टरसहितको सबै खर्च दिनुपर्छ।’ उनले अनुदानको नाममा लापारबाही भएकाले तत्काल छानबिन गरी दोषीलाई कारबाहीको मागसमेत गरे।

सामाजिक अभियान्ता गोविन्द न्यौपानेले नेपाली बजारमा बिक्री वितरणका लागि राखिएका बीउको गुणस्तरमा ठूलो समस्या देखिएको बताए। उनले नियमावली अनुसार लेवल गरिएका बीउमा समस्या देखिने गरेको बताए। उनले भने, ‘उमार शक्ति नहुने बीउ वितरण गर्नु सरकारको कृषिप्रतिको उदासिनता हो। अब किसान आफैंँ नै चनाखो भएर उपाय खोज्नुको विकल्प देखिँदैन’ 

नगरपालिकाले योग्य व्यक्ति वा संस्थासँग मकैको बीउ खरिद गरेको र नउम्रिएको हो भने किसानलाई क्षतिपूर्ति दिनैपर्ने कानुनी व्यवस्था देखिन्छ। बीउविजन नियमावली २०६९ को दफा ३६ (१) अनुसार कसैले बिक्री वितरण गरेको बीउविजनको गुणस्तर र गलत सूचनाको कारण कसैलाई हानीनोक्सान पुग्न गएमा मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारिसको आधारमा सम्बन्धित पक्षले किसानलाई क्षतिपूर्ति दिनुपर्ने भन्ने व्यवस्था स्पष्ट छ। रासस 


प्रकाशित : बुधबार, चैत १५ २०७९०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend