बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ हेलिकप्टर कम्पनी थपिँदै, को हुन् धौलागिरिका सञ्चालक?

मंगलबार, चैत १४ २०७९
नयाँ हेलिकप्टर कम्पनी थपिँदै, को हुन् धौलागिरिका सञ्चालक?

मन्त्रालयबाट लाइसेन्स पाएपछि एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा कम्पनी जाने छ। त्यहाँबाट एओसी पाएपछि उसले जहाज खरिदको प्रक्रिया अघि बढाउने छ। 

काठमाड‍ौं- सञ्चालनमा रहेका एक दर्जन कम्पनी आर्थिक मन्दीको मारमा परिरहेको बेला नयाँ हेलिकप्टर कम्पनी थपिने भएको छ।  

करिब एक दर्जन हेलिकप्टर कम्पनीहरू व्यापार नपाएको गुनासो गरिरहेका बेला सेवा सञ्चालनका लागि नयाँ कम्पनी दर्ता भएको छ।  हेलिकप्टर सेवा सञ्चालनका लागि दर्ता भएको कम्पनी उडान लाइसेन्सका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ। 

मन्त्रालय निकट स्रोतका अनुसार धौलागिरि हेलिकप्टर कम्पनी अनुमति माग गर्दै मन्त्रालय पुगेको हो। मन्त्रालयबाट लाइसेन्स पाएपछि एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा जानुपर्छ। 

क्याप्टेन सोवित गौचनले हेलिकप्टर कम्पनी ल्याउन लागेका हुन्। यसअघि नेपालका विभिन्न कम्पनीका हेलिकप्टर उडाएर अनुभव हासिल गरेका गौचनले आफ्नै एयरलाइन्स ल्याउन लागेका हुन्। 

गौचनले एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका छन्। उनले एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्ट सम्हालि सकेका छन्। पछिल्लो समय गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टर समेत रहेका थिए।

धौलागिरि हेलिकप्टरले तीनवटा हेलिकप्टरबाट सेवा दिने प्रतिबद्धता गरेको छ। काठमाडौंमा बेस राखेर लाइसेन्स माग गर्दै कम्पनीले मन्त्रालयमा आवेदन दिएको छ। कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। 

मन्त्रालयबाट लाइसेन्स पाएपछि एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा कम्पनी जाने छ। त्यहाँबाट एओसी पाएपछि उसले जहाज खरिदको प्रक्रिया अघि बढाउने छ। 

नेपालमा हाल १३ वटा कम्पनीले हेलिकप्टर सेवा सञ्चालनको अनुमति लिएका छन्। कोरोना महामारीको समयमा ठप्प हुँदा नोक्सानी बेहोरेका हेलिकप्टर कम्पनीहरूले गत वर्षदेखि सन्तोषजनक व्यापार गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, चैत १४ २०७९००:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend