शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

आँपमा देखियो मधुवा रोग, चिन्तामा किसान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
आँपमा देखियो मधुवा रोग, चिन्तामा किसान

मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो।

सर्लाही- सर्लाहीको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन्।

आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन्। आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका-२ का किसान रामपुकार महतोले बताए।

उनका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो। ‘पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ’ उनले भने।

हरिवन नगरपालिका-३ डाबरीका विनय आलेले पनि आफ्नो दसकठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताए। उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए। श्वरपुर नगरपालिका-७ का रामखेवन महतोको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ। फागुन महिनाको अन्तिम सातादेखि  मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो।

लालबन्दी नगरपालिका-१ स्थित बागबानी केन्द्रमा रहेको एकसय २० बिघा जमिनमा रहेका करिब छ हजार आँपका रुख सुरक्षित र स्वस्थ रहेको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताए। उनका अनुसार रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाइएका कारण केन्द्रका आँपका रुख सुरक्षित रहेका हुन्।

मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए। उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ’, प्रमुख कुशवाहले बताए। 

मधुवा किराको प्रकोप देखा परेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पुर्‍याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ। जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको करिब आठ हजार हेक्टरभन्दा बढी जग्गामा व्यावसायिकरूपमा आँपखेती हुने गरेकामा ईश्वरपुर, लालबन्दी, हरिवन र बाग्मतीलगायत क्षेत्रमा भने मधुवा किराको प्रकोप देखिएको हो। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend