बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मौलिकता संरक्षणसँगै स्वरोजगार

शनिबार, चैत ११ २०७९
मौलिकता संरक्षणसँगै स्वरोजगार

सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन्।

म्याग्दी- आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। 

सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन्।

बेनी नगरपालिका-६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका-८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका-७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका हुन्। 

घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उहाँहरुसँग छ। काठ र बाँसबाट सामान बनाउन उहाँहरुले जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोलेका छन्। एक पटक देखेको र चित्र हेरेको आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु उनीहरुको विशेषता हो। 

'सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्दथे', शाहीले भने, 'काठका सामान बनाउने रुचि भएका तीन जना मिलेर माग लिने र सामान बनाएर बेच्ने गरेका छौँ।' प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनःनिर्माण गरिएको छ। वैदेशिक रोजगारीका लागि ३६ वर्षीय शाही २७ महिना मलेसियामा बिताएर विसं २०७४ मा स्वदेश फर्किएका थिए।

मलेसियामा सोचेजस्तो नभएपछि शाहीले घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय सुरु गरे। शाहीले सात वर्ष मेलिसियाको फर्निचर उद्योगमा काम गरेर फर्किएका ३८ वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिए।  

सुरुमा बाँसका सिन्का बनाउन चीनबाट नौ लाख खर्चेर मेसिन ल्याएका शाहीले उद्योगमा १५ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको बताए। पाँच सयदेखि दुई लाख ५० हजार रुपैयाँ मूल्यसम्मका सामग्री बनाएको उनको भनाइ छ।

बाँसका सिन्कालाई डिजाइन र स्वरुपअनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको हो। भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि मागबमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ।

शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलका दुरुस्त आकृति तयार पारेका छन्। 'एक पटक देखेका जुनसुकै वस्तुको पनि आकृति तयार पार्न सक्छु', शाहीले भने, 'कतिपय सामग्री आफ्नै सिर्जनामा पनि बनाएको छु।' रासस


प्रकाशित : शनिबार, चैत ११ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend