शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

झापामा खुल्यो मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
झापामा खुल्यो मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना 

हाइ हिमालयन अर्गानिक प्रालिले ६० लाख रूपैयाँ लगानीमा झापामा ‘जैविक मल’ उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो। कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ।

झापा- हाइ हिमालयन अर्गानिक प्रालिले शिवसताक्षी नगरपालिका-८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ।

बर्सेनि रासायनिक मलको अभाव हुँदै आएको अवस्थामा त्यसको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले ६० लाख रूपैयाँ लगानीमा कारखाना स्थापना गरेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए।

छ महिनाअघिदेखि कारखानाबाट थ्रीस्टार ब्रान्डका चार प्रकारका जैविक मल उत्पादन भइरहेका छन्। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नुका साथै माटोको उर्वरा शक्तिलाई बढाउने घिमिरेको भनाइ छ।

कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ। यी पातमल, जरामल र धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्रांगारिक जीवाणुको रक्षा गर्ने उनले जानकारी दिए। माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दछ।

जैविक प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्‍याउने बताए।

हाल धुलो र झोलको रूपमा मल उत्पादन भइरहेको छ। महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखाना स्थापना गरिएता पनि हाल महिनामा पाँच सय मेट्रिक टनमात्र मल उत्पादन हुँदै आएको छ।

स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चा पदार्थ यो मल बनाउन प्रयोग हुने गरेको छ। आगामी वैशाखदेखि पूर्ण क्षमताका साथ मासिक एक हजार मेट्रिक टन मल उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। हाइ हिमालयनले कम्पोस्ट मल प्रतिकिलो ५० र झोलमल प्रतिलिटर ३० रूपैयाँका दरले झापा र इलामका किसानलाई बिक्री गर्दै आएको छ। 

रासायनिक मलको बर्सेनि हाहाकार हुने र किसानले विकल्प नपाइरहेको अवस्था देखेर जैविक मल उत्पादन गर्ने ठूलो कारखाना स्थापना गर्ने सोच आएको बताउने सञ्चालक घिमिरे पूर्वपत्रकार हुन्। उनी मूलधारका विभिन्न पत्रपत्रिका र रेडियोमा आबद्ध रहेर पत्रकारिता गर्थे। अहिले उनी पत्रकारिता पेसा छाडेर कृषि क्षेत्रमा मल क्रान्ति गर्ने लक्ष्यका साथ लागिरहेका छन्। 

‘एकातिर सरकारले रासायनिक मल किसानलाई चाहिएका बेला उपलब्ध गराउन सकेको छैन, त्यो पनि विदेशबाट मगाउनु पर्छ’, उनले मल काराखाना खोल्नुको कारण बताउँदै भने, ‘अर्कातिर रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा क्षयीकरण भइसक्यो, विषादीको प्रयोग नगरी बाली उत्पादन हुन छाड्यो, यो जटिल अवस्था देखेपछि पत्रकारिता त्यागेर जैविक मल उत्पादनको कारखाना सञ्चालन गर्ने अठोट गरेका हौँ।’ 

उनले वार्षिकरूपमा नेपाल सरकारले मल खरिदमा मात्र करिब रु २५ अर्ब खर्चँदासमेत समयमा किसानले मल नपाउँदा भोग्नुपर्ने सास्तीलाई हाइ हिमालयनजस्ता स्वदेशमै खुलेका अर्गानिक मल कारखानाले राहत मिल्ने बताए। 

सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिनुपर्ने उनको सुझाव छ। उनले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायतका देशको भ्रमण गरिसकेको बताए। ‘त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ’, उनले भने।

पत्रकारिता पेसा त्यागेर मल कारखाना खोलेर आफूले सुरुमै दैनिक आठ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको बताए। मलको माग बढ्दै जाँदा रोजगारी अझ बढी सिर्जना हुने सम्भावना छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जैविक मल उत्पादन गर्ने यस्ता कृषि उद्योग खुल्नु सराहनीय भएको बताउँदै जैविक मल उत्पादन गर्ने झापाका दुई कम्पनीलाई एक करोड रूपैयाँ अनुदान दिन सम्झौता भइसकेको जानकारी दिए।

उनले केन्द्रले हाइ हिमालय अर्गानिक प्रालि र बुद्धशान्ति गाउँपालिका-३ को अंकुरण एग्रो प्रालिलाई ५० लाखका दरले अनुदान दिने सम्झौता भएको बताए। अंकुरण एग्रो प्रालिले आगामी वैशाखदेखि मासिक पाँचसय मेट्रिक टन जैविक मल उत्पादन गर्ने जनाएको छ। यो अनुदान प्रदेश सरकारमार्फत आएको हो। कोशी प्रदेश सरकारले जैविक मल उत्पादन गर्नेलाई प्रोत्साहनस्वरुप अनुदान दिने नीति ल्याएको छ। रासस 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend