बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

काठमाडौं- गैरआवसीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई आजदेखि सामाजिक सुरक्षाको दायरमा ल्याउने प्रक्रिया आरम्भ भएपछि संघले लामो समयदेखि उठाउँदै आएको महत्वपूर्ण मुद्दा सम्बोधन भएको जनाएको हो। 

संघले महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउँदै यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ। पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत गराउन सुरु गरेपछि बहुसङ्ख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको संघको भनाइ छ। 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले भनिन्, 'संघको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलका रुपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको हो। वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनी तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौँ।'

संघका अर्का अध्यक्ष कूल आचार्यले लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे।

संघले आफ्नो सुरुको अभियानदेखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि सरकारलगायत सरोकारवालासँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गर्दै आएको थियो।

संघले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। रासस


प्रकाशित : बुधबार, चैत ८ २०७९१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend