शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

५० पोका च्याउबाट सुरू भएको व्यवसायमा ११ करोड पुग्यो लगानी, वार्षिक १० करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
५० पोका च्याउबाट सुरू भएको व्यवसायमा ११ करोड पुग्यो लगानी, वार्षिक १० करोडको कारोबार

सर्लाहीका ध्रुव चौलागाईँले एक लाख लगानीमा एकसय ५० पोका च्याउबाट सुरू गरेको व्यवसायमा हालसम्म ११ करोड रूपैयाँ लगानी भइसकेको छ। १७ जनाले रोजगारी समेत पाएका छन्।

सर्लाही- बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईँले च्याउखेती सुरू गरेको १० वर्ष भयो। विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन्। 

काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा एक लाख रूपैयाँ लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरू गरेका हुन्। ‘जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो’, उनले भने, ‘त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ।’  

एक लाख लगानीमा एकसय ५० पोका च्याउबाट सुरू भएको व्यवसायमा हालसम्म ११ करोड रूपैयाँ लगानी भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन्। उनले हाल एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेल बनाएका छन्। फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोड रूपैयाँसम्म कारोबार गरेको उनको भनाइ छ।

व्यवसायमा आमा, बुबा, श्रीमती र छोराको राम्रो साथ पाएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब नौ करोड रूपैयाँ ऋण लागेको बताए। 

कक्षा १२ सम्मको अध्यायन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन्। ‘च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्‍याउनुपर्छ’, उनले भने, ‘फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ।’  

हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए। यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौँलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ। उनले च्याउ हाल प्रतिकिलो तीनसय ५० रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। 

सात जनालाई आवासीय जागिर

चौलागाईँले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)बाट तालिम लिएका छन्। उनले तनहुँका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिएका छन्। 

फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ। यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन्। आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन्।

उनले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन्। सुरूमा बागमती नगरपालिकाले १० लाख रूपैयाँ अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले  सहयोग नपाएको चौलागाईँले बताए। रासस 


प्रकाशित : बुधबार, चैत १ २०७९०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend