शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मौरीपालनबाट मनग्य आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
मौरीपालनबाट मनग्य आम्दानी

सुरज वाग्लेले गत वर्ष मह बिक्री गरेर छ लाख आम्दानी गरे। यस वर्ष मंसिरमा मात्रै तीन लाखको मह बिक्री भएको उनले बताए।

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका-१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन। विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उनी विश्वस्त छन्। 

त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थालेका हुन्। मौरीपालनबाट उनले मनग्य आम्दानी गर्दै आएका छन्। ‘विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्दा आत्मसन्तुष्टिसँगै आम्दानी पनि मिल्छ’, उनले भने, ‘मलाई विदेश जाने सोच कहिल्यै आएन, स्वदेशमै केही उद्यम गरौँ भन्ने पहिल्यैदेखि लागिरहन्थ्यो।’ 

वाग्लेले गत वर्ष मह बिक्री गरेर छ लाख आम्दानी गरे। यस वर्ष मंसिरमा मात्रै तीन लाखको मह बिक्री भएको उनले बताए। फूलको रसबाट बनेको मह प्रतिकिलो दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो दुई हजार पाँचसय रूपैयाँमा बिक्री हुँदै आएको छ। मह बिक्रीका लागि बजारको समस्या छैन। ‘मह किन्न घरमै आउँछन्’, वाग्लेले भने।

वाग्लेले हाल ८० घारमा मौरीपालन गर्दै आएका छन्। जेठ र मंसिर मह बिक्री हुने समय हो। मौरीका लागि वनजङ्गलमा पर्याप्त फूल रहेकाले व्यक्तिगत फूल लगाउन नपरेको उनी बताउँछन्। ‘मौरीलाई चरनको समस्या छैन’, वाग्लेले भने। उनले महका साथै मौरीसहितको घार पनि बिक्री गर्दै आएका छन्। केही दिनमा एक सय ५० मौरीसहितको घार बिक्री गर्ने तयारीमा वाग्ले छन्। ‘प्रतिघार १० हजार रूपैयाँमा बिक्री हुन्छ’, उनले भने। कृषि ज्ञानकेन्द्रले मौरीसहितको घार खरिद गर्न लागेको हो। 

कृषि ज्ञानकेन्द्रले पाँचसय मौरीसहितको घार माग गरेको वाग्लेको भनाइ छ। फागुनदेखि वैशाखसम्म माउ मौरी बिक्री गरिन्छ। वाग्लेले मौरीपालनका साथै बाख्रापालन पनि गरेका छन्। उनको बाख्राफार्ममा हाल २४ बाख्रा छन्। रासस


प्रकाशित : आइतबार, फागुन २८ २०७९१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend