शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

वर्षा नहुँदा अलैँचीको बोट सुकेर सोत्तर, उत्पादनमा ठूलो ह्रास आउने चिन्ता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
वर्षा नहुँदा अलैँचीको बोट सुकेर सोत्तर, उत्पादनमा ठूलो ह्रास आउने चिन्ता

कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ। लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो। खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन।

फुङ्लिङ- ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन्। अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन्। अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ।

फक्ताङलुङ गाउँपालिका-५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ। कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ। लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो। खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन। हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ। हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको लिम्बूले बताए।

विगतका वर्षमा पुसको तोस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो। तर यस वर्ष भने खासै हिमपात भएको छैन। हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ-५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए। उनले भने, ‘खासै हिमालमा हिउँ परेको छैन। पर्याप्त वर्षा पनि भएको छैन। अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ।’ 

सिरिजंघा गाउँपालिका-६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ। गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो। अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउनसक्नेमा माबोको चिन्ता छ। ‘यतिबेला पालो गरीगरी बोट भिजाउनुपर्ने हो’, उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ।’

साउनदेखि मंसिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ। सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन्। जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ। ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने। ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन) बाट सिँचाइ गरिरहेका छन्।’

गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो। तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो। यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन्। न त हिमपात नै भएको छ। यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुःखेसो छ।

कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्ष दुई हजार छसय ५० टन अलैँची उत्पादन भएको छ। जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ। गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्यांकमा उल्लेख छ। फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ।

वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ। यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ। पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ। जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ। हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन्।

अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ। विगतमा एक मन (४० किलो) को एक लाख २० हजार रूपैयाँसम्ममा खरिद बिक्री भएको थियो। अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३५ हजार रूपैयाँमा खरिद बिक्री भइरेको फुङ्लिङ नगरपालिका-५ का व्यापारी दिनेश अधिकारीले बताए। गत साता ३२ हजार रूपैयाँमा कारोबार भएको अलैँची बुधबार ३५ हजार रूपैयाँमा कारोबार भएको उनले बताए। रासस


प्रकाशित : आइतबार, फागुन २८ २०७९११:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend