शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

च्याउ खेतीबाट तुलसाले जोडिन् घर-सम्पत्ति, अबको चाहना अन्तर्राष्ट्रिय बजार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
च्याउ खेतीबाट तुलसाले जोडिन् घर-सम्पत्ति, अबको चाहना अन्तर्राष्ट्रिय बजार

अहिले ताजा च्याउप्रति प्रतिकेजी दुईसयदेखि दुईसय बीस रूपैयाँसम्म बिक्री गर्छिन्। साथै च्याउको सुकुटी प्रतिकेजी तीनसयदेखि तीनसय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँचसयदेखि ६ सयसम्म बिक्री गर्दै आएकी छन्। 

दाङ- गरे के हुँदैन? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ। तर काम गरेर देखाउनेको संख्या भने निकै कम हुन्छ। तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् दाङ तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर।

पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहेकी मगरले हाल वार्षिक यसैबाट आठ लाखसम्म बचत गर्छिन्। १४ वर्ष स्वयंसेविकाका रुपमा विभिन्न जिल्ला पुगेर सेवा गरेकी उनी चितवनमा च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउँछिन्।

दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गरेकी छन्। उनले व्यवसायमा श्रीमानको राम्रो साथ पाएकी छन्। च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेकी उनले केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसकेकी छन्। गत वर्ष पनि उनलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो।   

‘धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ’, उनले भनिन्, ‘गाउँमै पनि थोरै लगानीमा आयआर्जनमूलक व्यवसाय गर्न सकिन्छ।’ उनले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखौँ रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडिसकेकी छन्।

विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उनले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिएकी छन्। एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ। 

‘अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हो’, उनले भनिन्, ‘यसका लागि सबैको सहयोग आवश्यक छ।’ अहिले ताजा च्याउप्रति प्रतिकेजी दुईसयदेखि दुईसय बीस रूपैयाँसम्म बिक्री गर्छिन्। साथै च्याउको सुकुटी प्रतिकेजी तीनसयदेखि तीनसय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँचसयदेखि ६ सयसम्म बिक्री गर्दै आएकी छन्। 

अहिले च्याउको सिजन भएकाले पनि उनको उद्योगमा च्याउ खरिद गर्न जानेको संख्या बढ्दो छ। उनी बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यस्त देखिन्छिन्। सुरूका दुई वर्षसम्म गंगामाला समूह खोलेर च्याउखेतीको सुरुवात गरेकी उनले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गरेकी छन्।

तीन लाख रूपैयाँबाट निजी च्याउ उद्योगको सुरुवात गरेकी उनले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गरेकी छन्। 

त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ। ‘अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु। यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु।’ रासस 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend