शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पातारासीका आलु किसानलाई राहत, सहकारीले घरै पुगेर गर्छ खरिद

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
पातारासीका आलु किसानलाई राहत, सहकारीले घरै पुगेर गर्छ खरिद

पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ।

जुम्ला- सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ। आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो।

सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे। तर अहिले भने गाउँमै प्रतिकेजी २५ रूपैयाँमा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताए।

घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ। 'सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भने, 'यहाँको आलु सुर्खेतलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ।'

पालिका अन्तर्गत सातवटै वडामा आलु उत्पादन हुन्छ। चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा सङ्कलन गरिन्छ भने हिँउदमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ। अहिले पातारासीका रिनी, पठमारा, बाँता गाउँबाट मात्र आठ सय क्विन्टल आलु बाहिरी जिल्लामा पठाइएको उपाध्यक्ष रोकायाले जानकारी दिए।

आलु जोनले समेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले जानकारी दिनुभयो । सहकारीले आलुको अग्र्यानिक ब्राण्ड नै दर्ता गरेको छ। 

पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर दुई हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ। आलु उत्पादनको ६० प्रतिशत हिस्सा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ। यहा उत्पादन हुने आलुको ५० प्रतिशत आलु बाहिर जिल्लामा बिक्री हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend