शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

किवी भण्डारणको समस्या, शीतभण्डार निर्माणको पहल हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
किवी भण्डारणको समस्या, शीतभण्डार निर्माणको पहल हुँदै

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ रहेको छ। अहिले २ सय ५० देखि तीन सय रुपैइाँसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए।

डडेल्धुरा- डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन्। 

डडेल्धुराको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ।

अमरगढी नगरपालिका-१ दहका गणेशबहादुर ऐरले ३० लाख रुपैयाँको लगानीमा १० रोपनीमा किवीखेती गर्दै आएका छन्। वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन्।

पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने मानिएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको छ। तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ। भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन्।

जिल्लामा एउटा मात्र शीतभण्डार छ। त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ। शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ। डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको  कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ रहेको छ। अहिले २ सय ५० देखि तीन सय रुपैइाँसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए। 'किवीका उपभोक्ता बढेका छन्, घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरु किसान आकर्षित भएका छन्', उनले भने। रासस 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend