शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मरेनी र बुलमा आलु पकेट क्षेत्र विकास कार्यक्रम सुरू

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
मरेनी र बुलमा आलु पकेट क्षेत्र विकास कार्यक्रम सुरू
फाइल तस्बिर

व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो।

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरू भएको छ।

व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो। शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एकसय १४ रोपनी बारीमा आलुखेती गरेको जानकारी दिए।

‘कृषकलाई ज्ञान, सीप र प्रविधिमा सहयोग गरी व्यावसायिक आलुखेती विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो’, उनले भने, ‘कृषकलाई उपकरण, बीउ, विषादी र बजारीकरणमा ५० प्रतिशत अनुदानको सुविधा छ।’

गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नं २ को लनगशील बहुउद्देश्यीय समूह र वडा नं ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपक्षी कृषक समूहलाई छनोट गरिएको हो। दुईवटै समूहलाई चालु आर्थिक वर्षमा छ-छ लाखका दरले अनुदान दिइने शाखा प्रमुख खत्रीले बताए।

आठवटा मिनिटेलर हलो माग गरेका समूहले १२ हजार किलोग्राम बीउ आलु रोपेका छन्। यसैगरी विषादी, स्प्रे र बजार पठाउने क्रममा आलु भण्डारण गर्न थैला उपलब्ध गराइने भएको छ। कार्यक्रममार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा झाडी फडानी गरेर सामूहिक आलुखेती विस्तार गरेका छन्। बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलुखेती गरेका छन्।

एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरू गरिएकामा खनजोत सकेर आलु लगाइएको लगनशील कृषक समूहका अध्यक्ष गौसरा विकले बताए। समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप एक सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ।

‘बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षौँदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ’, गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले भने, ‘यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ।’ रासस


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend