शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रुकुमपूर्वमा टर्कीबाट ल्याइयो १६ हजार ओखरका बिरुवा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
रुकुमपूर्वमा टर्कीबाट ल्याइयो १६ हजार ओखरका बिरुवा

डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरूवा ल्याएको हो। ती बिरूवा जिल्लाको विभिन्न वडाका ४० हेक्टर जमिनमा भोलि एकैसाथ रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ। 

रुकुम(पूर्व)- रुकुम(पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरूवा ल्याइएका छन्।

डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरूवा ल्याएको हो। ती बिरूवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ। लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरूवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिए। 

उनका अनुसार ओखरका बिरूवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरूवा वितरण गरिएको छ। प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरूवा लिएका छन्। समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीनसय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँचसय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छसय १४ बोट दाँते ओखरको बिरूवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताए। 

भोलि सिस्ने गाउँपालिका-५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका-३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरूवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ। 

यी कार्यक्रममा तीनवटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ-आफ्नै क्षेत्रमा खट्नेछन्। अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरूवा लागाइने भएको छ।

वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरूवा रोपिने भएको छ। यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरूवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ। 

गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको बिरूवा कसानलाई वितरण  गरेकामा २५ हेक्टर जमिनमा ती बिरूवा लगाइएको थियो। यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सातसय दाँते ओखरको बिरूवा ल्याएर वितरण गरेको थियो। 

हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम(पूर्व) मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरूवालाई हुर्काउन भने चुनौती छ। सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिदैन कि भन्नेमा किसानमा चिन्ता छाएको  छ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम(पूर्व) रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरूवा वितरण गर्दै आइरहेको छ। रासस 


प्रकाशित : सोमबार, फागुन १५ २०७९११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend