बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगार विभागले भन्यो - मौसमी कामदारमा पठाइदिन्छु भन्नेलाई पैसा नबुझाउनू 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
वैदेशिक रोजगार विभागले भन्यो - मौसमी कामदारमा पठाइदिन्छु भन्नेलाई पैसा नबुझाउनू 

रोजगारीको प्रलोभन देखाएर ठगी बढिरहेको भन्दै विभागले सतर्क गराएको हो।

काठमाडौं- वैदेशिक रोजगार विभागले मौसमी कामदारमा जाने प्रलोभनमा परेर कसैलाई रकम नबुझाउन आग्रह गरेको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी बढिरहेको भन्दै विभागले सतर्क गराएको हो। दक्षिण कोरिया लगायत विभिन्न मुलुकहरुमा मौसमी कामदारमा पठाइदिने भ्रामक सूचना फैलाएर तथा विभिन्न प्रलोभन देखाएर रकम उठाउने गरेको उजुरी बढिरहेको विभागले जनाएको छ। 

'मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु/बुझाउनु नपर्ने व्यवस्थाको विपरीत कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको छ’, विभागद्वारा जारी सूचनामा उल्लेख छ।  

उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र यस विभागमा हालसम्म कुनै डकुमेन्ट पेश नभएको पनि विभागले जनाएको छ ।

‘अतः दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न, रकम नबुझाउनु हुन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गरी सत्य तथ्य बुझ्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागका सूचनामा भनिएको छ ।


प्रकाशित : सोमबार, फागुन १५ २०७९११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend