शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

लामो खडेरीले हिउँदेबाली नष्ट, ७० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
लामो खडेरीले हिउँदेबाली नष्ट, ७० प्रतिशतसम्म  उत्पादन घट्ने अनुमान

समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ। तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्।

डडेल्धुरा- लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ। खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन्। खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ। लामो समयदेखि हिउँदे वर्षा भएको छैन। गँहुबाली लगाइएका खेत तथा गरा बाँझै छन्। 

पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका-२ का किसान देवराज भट्टले जानकारी दिए। खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित  छन्। पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ। बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन्। 

असोज अन्तिम सातापछि वर्षा भएको छैन। वर्षा नहुँदा खोलानाला पनि सुक्दै गइरहेका छन्। जिल्लामा आठ हजार सात सय ४४ हेक्टर जमिनमा गहुँखेती गरिन्छ।  गतवर्ष पनि खडेरीले गर्दा एक दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो। यसवर्ष पनि हिँउदे वर्षा नहुँदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए। 

वर्षा नहुँदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ। गहुँबाली लगाइने कूल क्षेत्रफलमध्ये वर्षात्को भरमा खेती हुने जमिन ६० प्रतिशत रहेको छ। यसवर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ। 

गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिए। लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठूलो असर परेको मुद्राडस्थित अजयमेरु-१ का किसान शेरबहादुर भण्डारीले बताए। पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीकोभरमा छर्नुपरेको अन्य किसानले बताए। 

उतिबेला छरियो बीउ लामो अवधिसम्म पनि पानी नपर्दा नउमे्रको र उम्रेका बिरुवा पनि मरिरहेको किसान भण्डारीको गुनासो थियो। खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन्। उनीहरुले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ।

उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहुँदा नासिँदै गइरहेको अजयमेरु- ३ का इश्वरी चन्दले बताए। समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ। तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्। रासस 


प्रकाशित : आइतबार, फागुन १४ २०७९१०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend