बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाटो नभएको ठाउँमा पुल बनाएको भन्दै तत्कालीन सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, फागुन १४ २०७९
बाटो नभएको ठाउँमा पुल बनाएको भन्दै तत्कालीन सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा नगरपालिका-३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल सडक नभएको ठाउँमा थियो। सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबीन अघि बढेको थियो।

राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार  गरिएको अख्तियारले जनाएको छ। अख्तियारले ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना साथै हानिनोक्सानी भएको बिगो मरहट्टाबाट असुलउपर गर्न मागदाबीसहित मुद्दा दायर गरेको छ।

अख्तियारले प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो मागदाबी गरेको छ। अख्तियारले पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ। उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ। गैरकानूनी रुपमा सरकारी वनको नोक्सानी गरेको आरोप पत्रमा उल्लेख छ। 


प्रकाशित : आइतबार, फागुन १४ २०७९१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend