शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

शनिबार, फागुन १३ २०७९
प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

अदुवाको बजार सुनिश्चितता तथा कृषकलाई उचित मूल्य प्रदान गर्न विगत दुई वर्षदेखि गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले बजारीकरण गर्दै आएको छ।

निस्दी- निस्दी-५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ। अन्य खेती छाडेर अदुवा खेती गर्दै आएका राक्सेको परिवारले अदुवाको मूल्य नपाएपछि यसबाट विस्थापित हुन थाले। 

'खेती गर्‍यो, बेच्ने बेलामा मूल्य नै आउँदैन। लगानी उठाउन पनि गाह्रो', राक्से भन्छन्, 'अदुवा खेती गर्ने मन नै मरेको थियो।' गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले बजार मूल्य पाउन थालेका हुन्।

राक्सेजस्तै गल्धाका धेरै महिला विगतका वर्षमा भएको अदुवाको बजार मूल्यको उतारचढाव तथा बजारको अनिश्चिताको कारणले अदुवा खेती कम गर्दै अन्य बाली खेती गर्न बाध्य थिए। गत वर्षबाट आफ्नै सहकारीले अदुवाको संकलन, बजारीकरण तथा प्रशोधन सुरु गरेपश्चात् उनीहरु उत्साहित भएका हुन्। आठ रोपनीमा अदुवा खेती गर्दै आउनुभएकी उहाँले मकै र कोदो लगाएको बाँकी आठ रोपनीमा पनि अदुवा खेती नै गर्ने सोच बनाएका छन्। 

विगतमा अदुवा उत्पादनमा पाल्पा जिल्लालाई अगुवाइ गरेको निस्दी गाउँपालिका र यहाँका कृषक बजारको अनिश्चितता र उत्पादनको उचित मूल्य नपाउँदा अदुवा खेतीमा आकर्षण विस्तारै घट्दै गएको थियो। अदुवाको बजार सुनिश्चितता तथा कृषकलाई उचित मूल्य प्रदान गर्न विगत दुई वर्षदेखि गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले बजारीकरण गर्दै आएको छ।

संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार दुई वर्ष अगाडि कृषकबाट उत्पादित सात हजार ६४ केजी अदुवा खरिद गरी बजारीकरण सुरु गरेकोे सहकारीले गत वर्ष ६३ हजार एक सय २३ केजी अदुवा खरिद गरी बजारीकरण गरेको थियो।

'निस्दीमा बिजुली छैन्, हामीले सोलार प्रविधिबाट अदुवालाई प्रशोधन गर्ने प्रविधि ल्याएका छौँ', सहकारीका व्यवस्थापक सारुले भने। गत वर्षबाट वातावरणमैत्री सोलार ड्रायर (अदुवाको चाना सुकाउने प्रविधि)को प्रयोग गरी चाना तथा धुलो प्रशोधन र ब्रान्डिङ सुरुआत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित सोलार ड्राइङ गरेको प्रांगारिक अदुवाको चानाको उच्च माग रहेको छ।

सहकारीमा आधुनिक अदुवा प्रशोधन केन्द्र स्थापना गरिएको छ। सहकारीका कार्यवाहक अध्यक्ष सीतादेवी घिमिरेका अनुसार चार सय मेट्रिक टन अदुवा प्रशोधन गर्नसक्ने क्षमताको प्रशोधन केन्द्रबाट यस वर्ष दुई सय मेट्रिक टन अदुवा प्रशोधन गरीएको छ। यहाँबाट प्रशोधित अदुवा विदेश निर्यातसम्म गर्ने लक्ष्य सहकारीको छ। 

हेफर इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोग, निस्दी गाउँपालिका, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक सहयोगमा यसै वर्ष गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामा प्रशोधन केन्द्र स्थापना गरिएको थियो। सहकारीमा आबद्ध तीन सय २० जना अदुवा कृषकले ४० हेक्टर क्षेत्रफलमा अदुवाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने योजना बनाएको सहकारीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १३ २०७९०९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend