शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

शनिबार, फागुन १३ २०७९
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

उनको फार्मबाट हाल प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा गोलभेँडा बिक्री हुन्छ। मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए। 

रेसुंगा- गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन्। कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन्।

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका हुन्। उनीरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर  गोलभेँडा खेती गरिरहेका छन्। ज्ञवाली परिवारका छ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन्।

उनको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ। उनको फार्मबाट हाल प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा गोलभेँडा बिक्री हुन्छ। मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए। 

व्यवसायको सुरुआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिकरुपमा एकदेखि दुई लाख रुपैयाँ खर्च कटाएर बचत हुने गरेको कमलले बताए। 'हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ', उनले भने, 'खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक/दुई लाख आम्दानी हुन्छ।' लगातार मेहनत गर्नेहरु व्यावसायिकरुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्रांगारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा चार लाख रुपैयाँ सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए। उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताए। 

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो। साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषितसमेत भएका थिए। रासस


प्रकाशित : शनिबार, फागुन १३ २०७९०८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend