शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

दुई वर्षमै अम्रिसोको मूल्यमा तेब्बर वृद्धि, म्याग्दीका किसानले थाले व्यावसायिक खेती

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
दुई वर्षमै अम्रिसोको मूल्यमा तेब्बर वृद्धि, म्याग्दीका किसानले थाले व्यावसायिक खेती

अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ। हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ। ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो।

गलेश्वर- म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ।

पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन्। दुई वर्षअघि प्रतिकिलो ४० रूपैयाँका दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी एक सय २५ रूपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन्।

मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो रूपैयाँ एक सयदेखि एक सय २५ रूपैयाँसम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन्। अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर सापकोटाले प्रतिकिलो एक सय २५ रूपैयाँसम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन्।

उनीबेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्छन्। यस वर्ष अम्रिसोको मूल्य केही बढ्न सक्ने अनुमान गरेको सापकोटा बताउँछन्। अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष  एक सय ४० रूपैयाँमा बिक्री गरेका उनले यस वर्ष भने एक सय ६० रूपैयाँ सम्ममा बिक्री हुने अनुमान गरेका छन्। 

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन्। अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन्। 

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ। अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ। हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ। ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो।

गुणस्तरीय जीवन विषयमा विधावारिधि गर्नुभएका डा माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो। यसको अंग्रेजी नाम ब्रूम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो। 

ग्रेमिनी-पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरूवा तीन मिटरसम्म अग्लो हुने गर्छ। यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन्। यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन्। मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको  महत्व बढेको हो ।

 बिरूवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरू गर्छ। प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि  प्रयोग हुन्छ।

अम्रिसोको बिरूवा बर्सात्का बेला रोप्नु उपयुक्त हुन्छ। बिरूवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन। एकपटक रोपिसकेपछि आफैँ राम्रोसँग हुर्कन सक्ने अम्रिसो  रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ। यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ।

अम्रिसोको बाली संकलन भनेको यसको फूलको गुच्छा टिप्ने हो। बीउ परिपक्व भएपछि गुच्छा संकलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ। साधारणतया माघ-फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउँछन्। रासस


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend