बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महानगरले ऐतिहासिक ढुंगेधारा संरक्षण गर्ने

शनिबार, फागुन ६ २०७९
महानगरले ऐतिहासिक ढुंगेधारा संरक्षण गर्ने

अध्ययनमा हिटी (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ। 

काठमाडौं- काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका  लागि अध्ययन अघि बढाएको छ। कामपाले उक्त कार्य वडा नं १५ बाट सुरु गरिसकेको छ। 

 उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनःभरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोहीअनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुंगेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो”, प्रवक्ता मानन्धरले भने।  

उनका अनुसार ढुंगेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ। सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ।  

अध्ययनमा हिटी (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ। 
 
यस्तै प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ। त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुंगेधारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिने कामपाले जनाएको छ।  

स्मारक तथा अन्य क्षेत्रमा भएका ढुंगेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्बिर सङ्ग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिने छ।  कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनभरण, ढुंगेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिस पनि गर्नेछ।

अध्ययन विशेषगरी कामपको भित्री वडा जहाँ ऐतिहासिक ढुंगेधाराको सङ्ख्या बढी रहेको स्थानसहित ३२ वटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ। पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुंगेधाराको संरक्षणको काम भने गरिरहेको छ।   

आगामी दुई वर्षसम्ममा उक्त ऐतिहासिक सम्पदाको अध्ययनको काम सक्ने गरी कामपा र इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य अघि बढाएको हो। जहाँ विशेषत काठमाडौंका ढुंगेधारा र भूमिगत पानी पुनस्र्थापनाका लागि अध्ययन हुन्छ। विगतमा ढुंगेधाराकै पानीको भरमा काठमाडौँवासी बाचेका भए पनि पछिल्लो समय मानिसको बाक्लो बस्ती र अन्य विभिन्न कारणले गर्दा यसको प्रयोग र महत्व भने घट्दै गएको छ। हाल कामपामा रहेको ढुंगेधारा  केहीमा मात्रै पानी आउँछन् भने धेरै ढुंगेधाराहरुमा संरक्षण र सरसफाइ बिना अलपत्र छन्।  

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुंगेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको भए पनि यसको संरक्षणमा ध्यान नपुगेको कारण संरक्षण गर्न लागिएको कामपाको जानकारी दिएको छ।  

पानीको अभाव झेलिएको अहिलेको अवस्थामा नगरवासीलाई विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुंगेधारा संरक्षणबाट हुन सक्ने कामपाको विश्वास  छ। ढुंगेधारा हिजोआज मात्रै विकास भएको इतिहास होइन यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ। लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडाैंको हाँडीगाउँको ढुंगेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ। 

उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौं उपत्यकाको टोलटोलका रहेको ऐतिहासिक ढुंगेधारा लुँहिटी, मरुहिटी, थँहिटी, क्वहिटी, वहहिटी आदि नामले प्रचलित छन्। जुन नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएका छन्। रासस


प्रकाशित : शनिबार, फागुन ६ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend