बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नीतिनियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भनेमात्र खोजेको नतिजा प्राप्त हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

शुक्रबार, फागुन ५ २०७९
नीतिनियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भनेमात्र खोजेको नतिजा प्राप्त हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

धुलिखेल- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानूनहरु बनाउँदा सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरेर बनाएमात्र खोजेको उद्देश्य र नतिजा प्राप्त हुने बताएका छन्।

शुक्रबार धुलिखेल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताए।

'सरोकारवाला निकायसँग छलफल नै नगरी नीति नियम बनाउने चलन छ। अधिकांश नीति नियम बनाउँदा निजी क्षेत्रलाई साक्षीमात्र राख्ने गरिन्छ। यसले गर्दा उक्त नीति नियम कार्यान्वयन पनि हुन सक्दैन र त्यसले चाहेको नतिजा पनि दिन सक्दैन। त्यसैले सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर, उनीहरुलाई सहभागि गराएर नीति नियम बनाउने गरौँ,' उनले भने। 

उनले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास पनि हासिल गर्न सहज हुने बताए।

उनले कोभिडका कारण बैदेशिक रोजगारीमा गएका श्रमिकहरु घर फर्किने तर जाने क्रम रोकिएको, पर्यटकहरु आउने बन्द भएको तथा मूल्य वृद्धि भई आयातमा धेरै पैसा बाहिरिएको कारण अर्थतन्त्रमा समस्या आएको बताए।

तर कोभिड महामारीको समयदेखि सुरुभएको तरलताको समस्या विस्तारै सहज हुदै गएको छ, उनले भने। 

'कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए। विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानि योग्य पुँजीको अभाव भयो। तर अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन्। यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ,' उनले भने।

उनले महासंघको तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरु सम्बोधन गरेको बताए। 

'हामीले प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थ मन्त्री र नेपाल राष्ट्र बैंकको गर्भनरज्यू लगायतलाई बारम्बार हाम्रा समस्याहरु राखेर यसमा सम्बोधन गर्न भनेका छौँ। केही कुराहरु सम्बोधन पनि भएका छन्। अझै धेरै बाँकी छन्। यसमा हामी निरन्तर पैरवी गर्ने नै छौँ,' उनले भने।


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend