शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अलैँचीले उकासियो लमजुङका किसानको आर्थिक अवस्था, वार्षिक १५ लाखसम्म आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
अलैँचीले उकासियो लमजुङका किसानको आर्थिक अवस्था, वार्षिक १५ लाखसम्म आम्दानी

लमजुङमा हाल एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ।

लमजुङ- कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ। करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो। 

अलैँचीबाट उकासिएकामध्ये एक हो हिमाली जिल्ला मनाङसँग सिमना जोडिएको लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ। उनको  दिनचर्या अलैँची बारीमै बित्छ। कालो सुनका रूपमा हेरिने अलैँची खेती थालेपछि भने उनी आर्थिकरूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन्। 

अलैँची किसान तामाङ गाउँगाउँमा सुरु भएको अलैँची खेतीको लहरसँगै १५ वर्ष अघि परिवारसहित गाउँ फर्किए। एक रोपनी जग्गाबाट सुरु भएको अलैँची खेती यतिबेला ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। सोही छिनखोलामा पाँच रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैँची नर्सरी स्थापना भएसँगै उनले अलैँची बिरुवा पनि बेच्न थाले। 

उनका अनुसार अलैँची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १०/१५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनी भन्छन्, ‘विदेशमा वार्षिक तीन लाख जति कमाइ हुन्थ्यो तर अहिले परिवारको साथमा घरमा बसीबसी १० लाख रुपैयाँ बढीसम्म वार्षिक आम्दानी हुन्छ।’

उनी नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका निर्वतमान अध्यक्ष तथा हाल गण्डकी प्रदेशको संयोजक समेत छन्।उनले रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैँची खेती गर्दै जीवन परिवर्तन गर्न आग्रह गर्दै आएका छन्। 

त्यस्तै, सोही वडास्थित लुदीका सोमबहादुर तामाङ पनि एक सफल अलैँची किसान हुन्। उनले मलेसियामा १५ वर्ष श्रम बेचे तर आर्थिक हैसियत उकासिएन। यतिबेला सोमबहादुरले ६० रोपनी क्षेत्रफलमा लगाएको अलैँचीबाट उनी घरमै बसेर वार्षिक चार/पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। धान, मकैभन्दा अलैँची खेतीले राम्रो आम्दानी हुने गरेको र परिवारको गुजारा चलाउन सहज भएको उनको भनाइ छ। 

उनका अनुसार गाउँका स्थानीय अलैँची खेतीतर्फ आकर्षित भएर लुदीका ४२ घरधुरीले बारापोखरी कृषक समूह दर्ता गरी एक हजार पाँच सय रोपनीमा समेत अलैँची खेती सुरु गरेका छन्। पहिलो पटक यस वर्ष १० क्विन्टल अलैँची दानासमेत उत्पादन भएको उनले बताए।

कम मेहेनतमै राम्रो आम्दानी दिने भएकाले अलैँचीप्रति गाउँलेको ध्यान केन्द्रित हुन थालेका छन्। छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैँची खेती थाल्ने अर्का सफल कृषक छन्। उनले पनि वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी अलैँची खेतीबाटै गर्दै आएका छन्। 

अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन,भाग्य नै बदलिदिएको पछि जिल्लाका किसान पछिल्लो समयमा अलैँची खेतितर्फ आकर्षित हुँदै गएका छन्।  जिल्लामा हाल एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ।

जिल्लामा गत वर्ष ३५ मेट्रिक टन अलैँची दाना उत्पादन भएको थियो। गत वर्षको तुलनामा करिब ८५ प्रतिशत वृद्धि भएको अलैँची कृषकको अनुमान छ। जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ। जिल्लामा उत्पादित अलैँचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ। 

अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ विगतमा धेरै राम्रो कम हुँदै गएको र सरकारले उचित व्यवस्था गर्नुपर्नेमा नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक तामाङले बताए।

जिल्लाका किसानले यस वर्ष अलैँची दाना प्रतिकिलो छ सयदेखि सात सय रुपैयाँसम्म बिक्री गरेका छन्। मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी अलैँची खेती हुने गरेको अलैँची किसानको भनाइ छ। रासस  


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend