शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
फाइल तस्बिर

पर्वत- राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेको छ। 

पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैले उत्पादन गरेर बिक्री सुरु गरेका हुन्। आफैले कफी उत्पादन गरेर बिक्री गर्दा किसानले समेत राम्रो मूल्य पाउन थालेका छन्। 

कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो। पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताए। 

‘जिल्लाको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन धुलो कफी बिक्री गर्न थालिएको हो। कृषकले आफूले उत्पादन गरेको फ्रेस चेरी जिल्ला कफी सहकारी सङ्घले खरिद गर्ने र विदेश निर्यात गर्ने गरेको भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले आफै धुलो बनाएर बेच्न सुरु गरेका हौँ’ शर्माले भने। धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै विभिन्न मेला महोत्सवमा समेत जिल्लाको कफीको प्रचार हुने भएकाले यसरी बेच्न सुरु गरिएको शर्माले बताए। 

अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारे होटल तथा क्याफेले खरिद गर्दै आएका छन् भने पोखरा, बागलुङ र पर्वतका सौगात गृहमा समेत राम्रो बिक्री हुने गरेको जानकारी दिए। पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ। 

कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गर्दै आएको छ। यसबाट जिल्लामा प्रत्येक वर्ष एक करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको छ।

यस जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने कफी केही वर्षअघिसम्म त्यत्तिकै खेर जाने गरेको थियो। अहिले जिल्लाका सबै स्थानीय तहका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीय बजारका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्यसमेत पाएका छन्। सहकारीका अनुसार गत वर्षमात्रै १७ टन कफी निर्यात भएको थियो। 

अहिले जिल्लाका ३५ वडामा कफी खेती हुँदै आएको छ। पछिल्लो समय जिल्लाका अधिकांश ठाउँमा नयाँ कृषकले व्यावसायिक कफी खेती सुरु गरेको भए पनि पुराना कृषकले राम्रो मूल्य पाउन नसक्दा बोटमै सुकेर जाने गरेको कृषकको भनाइ छ। 

बजारीकरणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समन्वय नगर्दा पनि कृषक निराश बनेका हुन्। उपयुक्त भौगोलिक र हावापानीका कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाउनुपर्ने भए पनि स्थानीय तहमा समेत प्रचारप्रसार हुन नसक्दा बजारीकरणमा समस्या भएको शर्माको भनाइ छ। रासस       


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend